काठमाडौं । तिहारको अवसरमा गरिने देउसी–भैलोलगायतका कार्यक्रम राती १० बजेपछि नगर्न आग्रह गृह मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।
रातको समयमा देउसी भैलो खेल्दा शान्ति सुरक्षामा प्रतिकूल असर पुग्न सक्ने भएकाले राती १० बजेसम्ममात्र देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको हो ।
देउसी भैलोलगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भन्दै यस्तो अनुरोध गरेको बताइएको छ । ‘सुरक्षालाई दृष्टिगत गरि देउसी भैलोलगायतका कार्यक्रमहरु राती १० बजेसम्म मात्र गर्न मन्त्रालय अनुरोध गर्दछ’विज्ञप्तीमा भनिएको छ ।
मन्त्रालयले तिहार र छठ जस्ता पर्वहरुमा भूइँचम्पा, पटका र अतिसवादी जस्ता विष्फोटक पदार्थ प्रयोग गरेको पाइए कानुन बमोजिम कारबाही गरिने समेत स्पष्ट पारेको छ।