Logo

खस्कियो देशको निर्यात व्यापार : खानेतेल र गलैँचाको निर्यातमा ठूलो गिरावटले समग्र निर्यात व्यापार प्रभावित

खस्कियो देशको निर्यात व्यापार : खानेतेल र गलैँचाको निर्यातमा ठूलो गिरावटले समग्र निर्यात व्यापार प्रभावित



काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा नेपालको निर्यात व्यापार घटनुमा ३ प्रतिशत बढीले घटेको छ । अघिल्ला बर्षहरुमा खानेतेलको निर्यात उकालो लागिरहँदा लगातार बढिरहेको निर्यात व्यापार गत बर्ष अघिल्लो आवको तुलनामा झण्डै पौने ५ अर्ब रुपैयाँले घटेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालबाट भारतलगायत तेस्रो मुलुक निर्यात हुने मुख्य वस्तुहरुको निर्यातमा गिरावट आउँदा नेपालको समग्र निर्यात व्यापारमा प्रभाव परेको छ ।

नेपालबाट खासगरी गलैँचा, अलैँची, चिया, धागो, छुर्पीलगायतका वस्तुहरु विदेश निर्यात हुँदै आएका छन् । नेपालले विदेश निर्यात गर्ने मुख्य वस्तुहरु पनि यिनै हुन् । तर, पछिल्लो केहि बर्षदेखि प्रशोधित खानेतेलको निर्यातले नेपालबाट निर्यात हुने अन्य मुख्य वस्तुलाई छायाँमा पार्दै आएको थियो । गत आर्थिक बर्षमा प्रशोधित खानेतेलकै निर्यात सबैभन्दा बढी ओरालो लाग्दा नेपालको समग्र निर्यात व्यापारमा गिरावट आएको देखिएको हो ।

भन्सार विभागका अनुसार गत आर्थिक बर्षमा अघिल्लो आवको तुलनामा प्रशोधित पाम तेलको निर्यात मात्रै ५ अर्ब ९ करोड १७ लाख रुपैयाँले घटेको छ । यसरी घट्दा गत आवमा नेपालबाट प्रशोधित पाम तेल ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको हो । अघिल्लो आवमा भने यस्तो तेल नेपालबाट १० अर्ब ७१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

यस्तै नेपालबाट निर्यात हुने मुख्य वस्तुमा पर्ने गलैँचा, अलैँची, धागो, चिया र छुर्पीको निर्यातमा पनि उल्लेख्य गिरावट आएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा गत आर्थिक बर्ष नेपालबाट निर्यात हुने गलैँचाको निर्यातमा ९३ करोड ४१ लाख रुपैयाँ बराबरको गिरावट आएको छ । अघिल्लो आवमा ११ अर्ब ५० लाख ६६ हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार वर्गमिटर गलैँचा निर्यात भएकोमा गत आर्थिक बर्ष निर्यात घटेर १० अर्ब ५७ करोड २४ लाख रुपैयाँ बराबरको ४ लाख १४ हजार वर्गमिटरमा खुम्चिएको हो । यद्यपि गत आर्थिक बर्ष र अघिल्लो आर्थिक बर्ष नेपालबाट धेरै निर्यात हुने वस्तुको पहिलो स्थानमा गलैँचा छ ।

यस्तै गत आवमा अघिल्लो आवको तुलनामा अलैँचीको निर्यातमा पनि उल्लेख्य गिरावट आएको देखिएको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक बर्षमा नेपालबाट करिव १ लाख किलो निर्यात भएको अलैँची गत आवमा भने ५० लाख किलो घटेर ५० लाख ५० लाख १७ हजार किलोमा सीमित भएको हो । अलैँची निर्यातबाट मात्रै अघिल्लो आवमा ८ अर्ब ४७ करोड आम्दानी गरेको नेपालको गत आवमा भने उक्त आम्दानी घटेर ७ अर्ब ९३ करोडमा सीमित भएको हो ।

यस्तै गत बर्ष नेपालबाट धेरै निर्यात हुने यार्न (धागो)को निर्यात पनि ३९ करोड रुपैयाँले घटेको छ । अघिल्लो आवमा ४ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ बराबरको १४ करोड ९० लाख किलो निर्यात भएको यस्तो धागो गत आवमा घटेर ३ अर्ब ९५ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ । गत आवमा अघिल्लो आवको तुलनामा धागो निर्यातबाट हुने आम्दानीमा गिरावट आएपनि निर्यात हुने धागोको परिमाण भने ५ लाख ४९ हजार किलोले बढेको छ ।

नेपालबाट तेस्रो मुलुक खासगरी अमेरिकामा अत्याधिक रुचाईएको कुकुर बिरालोको खाना अर्थात छुर्पीको निर्यातमा पनि गत आवमा गिरावट आएको छ । भन्सार विभागका अनुसार गत आवमा अघिल्लो आवको तुलनामा नेपालबाट निर्यात हुने छुपीको निर्यात २२ करोड ४७ लाख रुपैयाँले घटेको हो । अघिल्लो आवमा ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ बराबरको १७ लाख ८६ हजार किलो छुर्पी नेपालबाट निर्यात भएकोमा गत आवमा घटेर ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँ बराबरको १६ लाख ४६ हजार किलोमा सीमित भएको हो ।

यस्तै यसै अवधिमा नेपालबाट निर्यात हुने चियाको निर्यातमा पनि २७ करोड ३३ लाख रुपैयाँको गिरावट आएको छ । यसरी चियाको निर्यातमा गिरावट आउँदा गत आर्थिक बर्षमा नेपालबाट ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको १ करोड ३७ लाख किलो मात्रै चियाँ निर्यात भएको छ । साथै नेपालको प्रमुख निर्यात वस्तु मानिने फेल्टको निर्यात पनि गत आवमा ३७ करोड ७७ लाख रुपैयाँले घटेर ४ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा नेपालबाट ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको फेल्ट निर्यात भएको थियो ।

यी चार वस्तुको निर्यात अर्ब बढीले बढ्यो

गत आर्थिक बर्षमा अघिल्लो आवको तुलनामा समग्र निर्यात व्यापार ओरालो लागेपनि मुख्य निर्यात हुने ४ वस्तुको निर्यात भने अर्ब माथिले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आवको तुलनामा गत आवमा नेपाली आल्मुनियमको जस्तापाता, स्टिल जस्तापाता, जुस र प्लाईउडको निर्यात एक अर्बमाथि बढेको हो । विभागको तथ्यांकलाई केलाउँदा गत आवमा अघिल्लो आवको तुलनामा आल्मुनियम कोट गरिएको जस्तापाताको निर्यात २ अर्ब ८४ करोड ४३ लाख रुपैयाँले बढेको छ ।

नेपालबाट अघिल्लो आर्थिक बर्षमा ४ अर्ब २ करोड १९ लाख रुपैयाँ बराबरको ३ करोड १६ लाख किलो यस्तो जस्तापाता निर्यात भएकोमा गत आर्थिक बर्ष बढेर ६ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ बराबरको ५ करोड ४५ लाख किलो पुगेको हो । यस्तै यसै अवधिमा प्लास्टिक कोट गरिएको जस्तापाताको निर्यात पनि १ अर्ब ४१ करोड ९९ लाख रुपैयाँले बढेको छ । अघिल्लो आवमा २ अर्ब ८९ करोड २५ लाख रुपैयाँ बराबरको निर्यात भएको यस्तो जस्ता गत आवमा बढेर ४ अर्ब ३१ करोड २४ लाख रुपैयाँ पुगेको हो । यसरी गत आर्थिक बर्ष नेपालबाट जस्तापाता मात्रै ११ अर्ब १७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

यसै अवधिमा नेपालबाट निर्यात हुने जुसको निर्यात १ अर्ब ४१ करोड र प्लाईउडको निर्यात १ अर्ब ४१ करोड रुपैयाँले बढेको विभागको तथ्यांकमा उल्लेख छ । यी ४ वस्तुहरु गत आवमा बढ्नुले विदेशी बजारमा यी नेपाली वस्तुको माग उल्लेख्य रहेको देखिएको छ । गत आवमा नेपालबाट ६ अर्ब २३ करोडको जुस र ३ अर्ब ९४ करोडको प्लाईउड निर्यात भएको तथ्यांकमा उल्लेख छ । यससँगै नेपालबाट निर्यात हुने पोलिस्टर धागो र उनका कपडाको निर्यात पनि बढेको तथ्यांकमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL