Logo

कस्तो आउँदैछ मौद्रिक नीति ?, यस्तो छ अर्थमन्त्री पौडेलको मौद्रिक नीतिसम्बन्धी धारणा

कस्तो आउँदैछ मौद्रिक नीति ?, यस्तो छ अर्थमन्त्री पौडेलको मौद्रिक नीतिसम्बन्धी धारणा



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । आज (सोमबार) मन्त्रालयमा नेपाल होटल संघ –हान) का पदाधिकारीसँगको भेटमा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने बताए । उनले होटललाई उद्योगको मान्यता दिनेकुरामा सरकार गम्भीर रहेको पनि बताए ।

मन्त्री पौडेलले भने, ‘यहाँहरूले राख्नु भएका समस्याहरूमध्ये मौद्रिक नीतिमा छलफल चलिरहेको छ। केही दिनभित्र टुंगोमा पुग्छ । सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ। विमानस्थल सञ्चालन गर्नेकुरामा केही बैठक बसेर त्यो सञ्चालनमा जान सकिन्छ। जानुपर्छ, जाने नै हो । हामी भर्खर त आइपुग्यौं । यसलाई हामी गम्भीरताका साथ लिन्छौं । होटललाई उद्योगको मान्यता भनेको त उतिबेलै हामीले निर्णय गरेको हो ।’

अर्थमन्त्रीसँगको भेटमा नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक साहले ३०-३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भएपनि बर्सेनि १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरैभन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गरे। सडक पूर्वाधारहरु सुरक्षित नहुँदा पनि पर्यटकहरु नेपाल आउन नचाहने गरेको बताए ।

उनले भने, ‘हामी ३०-३५ लाख पर्यटकलाई सेवा दिनसक्छौं तर हामीकहाँ १० लाखको हाराहारीमा पर्यटक आउनु हुन्छ। हामीसँग दुईवटा एयरपोर्ट तयार भएको छ तर सञ्चालनमा आएको छैन। विभिन्न स्थानको सडक राम्रो नहुँदा मानिसहरु आउन चाहेका छैनन्। आउँदो मौद्रिक नीतिमा बैंकबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु । कालोसूचीमा राखिदिन्छ, लिलाम गरिदिन्छ । हामी पलायनको अवस्थामा छौं । दुई विमानस्थल चलाउनसके हामीले भारतीय र चिनियाँ पर्यटक धेरै ल्याउन सक्छौं । होटललाई उद्योगको मान्यता दिनुपर्छ ।’ अध्यक्ष साहले होटल व्यवसायीहरूले बैंकबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL