Logo

पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात : धेरै निर्यात हुने सूचीमा चिया, अम्रिसो, अदुवा र प्लाइउड

पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात : धेरै निर्यात हुने सूचीमा चिया, अम्रिसो, अदुवा र प्लाइउड



काठमाडौँ । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजार रुपैयाँको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ ।

सोही अवधिमा काँकडभिट्टा नाका भएर १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उनले जानकारी दिए । गत आवको आयातको तुलनामा आव २०८०/८१ मा चार अर्ब ६१ करोड २६ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु बढी निर्यात भएको हो ।

निर्यात भएका कृषिजन्य वस्तुमा तरकारी, फलफूल, बिरुवा, जडीबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्रिसो, अलैँची, काठका हस्तकला सामग्री, मसला बाली, बिउविजनलगायत छन् । चिराइतो (जडीबुटी) बाहेक सम्पूर्ण वस्तु भारत निकासी हुने गरेको छ । चिराइतो भने भारत र बङ्गलादेश दुबै मुलुकमा निर्यात हुने गर्छ ।

आयात हुने कृषिजन्य वस्तुमा खाद्यान्न, दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटबिरुवा, जडीबुटी, दाल, लसुन, आलु, ब्रानलगायत रहेको सूचना अधिकारी यादवले जानकारी दिए । काँकडभिट्टा नाका भएर आयात हुने खाद्य वस्तुमा मकै, फापर, कोदो रहेको छ ।

यस नाकाबाट उक्त अवधिमा जम्मा ९१ करोड ५६ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु आयात भएको छ । आयातित कृषिजन्य वस्तुमध्ये ताजा तरकारी र ताजा फलफूल धेरै छ । कार्यालयको तथ्यांक अनुसार चार अर्ब, ८७ करोड ६५ लाख १५ हजार रुपैयाँको ताजा फलफूल चार अर्ब ५६ करोड २३ लाख ८० हजार रुपैयाँको ताजा तरकारी एक वर्षमा आयात भएको छ ।

निर्यातको ठूलो अंश औद्योगिक बाली र मसाला बालीले ओगटेको छ । धेरै निर्यात हुने कृषिजन्य वस्तुको सूचीमा चिया, अम्रिसो, अदुवा र प्लाइउड भारत निर्यात हुने गरेको छ । भारतबाहेकका मुलुकमा निर्यात थोरै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL