Logo

गोलचक्करमा फसेको ‘रिङरोड’ विस्तार : जनतालाई हिलो र धूलोको सकस, गल्ती नेपालको कि चीनको ?

गोलचक्करमा फसेको ‘रिङरोड’ विस्तार : जनतालाई हिलो र धूलोको सकस, गल्ती नेपालको कि चीनको ?



काठमाडौं । काठमाडौं र ललितपुरको भूभाग हुँदै निर्माण भएको कुल २८.२ किलोमिटर लम्बाईको रिङरोड (चक्रपथ) ले महाराजगञ्देखि एयरपोर्ट–कोटेश्वर–सातदोबाटो, कलंकी–बालाजु हुँदै एक फन्को मार्छ । तर, पछिल्लो केही वर्षयता यही रिङरोडले सरकारदेखि सडकसम्म गोलचक्करको अवस्था पैदा भएको छ । करिव ५ बर्षसम्म नै अलपत्र पारिएको कलंकीदेखि बसुन्धारासम्मको उक्त खण्ड हालसम्म पनि अलपत्र नै छ ।

चीन सरकारको सहयोगमा कोटेश्वरदेखि कलंकीसम्म चक्रपथ विस्तार सम्पन्न भएसँगै चीनकै सहयोगमा चक्रपथको दोश्रो खण्ड कलंकीदेखि चावहिलसम्म विस्तार शुरु भएको थियो । तर, काम शुरु हुनासाथै समस्यापनि शुरु भए र चक्रपथ विस्तारको काम अलपत्र अवस्थामा छ । जसका कारण अहिले चक्रपथको यो खण्डमा सवारी, चालक, स्थानीय, यात्रु र पैदलयात्रीसमेतले निकै सकस बेहोरिरहेका छन् । कहिले नेपालको कमजोरीले त कहिले चीनको कमजोरीले निर्माण हुन नसकेको चर्चाबीच यो सडकखण्डको विस्तार कहिले हुन्छ भन्नेमा हालसम्म भने अनिश्चितता मात्रै देखिन्छ ।

करिव ६ अर्ब अनुदानमा निर्माण हुने दोश्रो खण्ड विस्तारको आयोजना खासगरी चावहिलको गोपीकृष्णसम्मै विस्तार गर्ने योजना थियो । तर, महाराजगंजमा १९ घर हटाउन नेपाल सरकारलाई अप्ठ्यारो परेपछि हाल यसलाई छोट्याएर कलंकीदेखि बसुन्धाराको कल्भर्टसम्म खुम्च्याइएको छ ।

पछिल्लो समय चिनियाँ पक्ष र नेपाली पक्षबीच चक्रपथ विस्तार अघि बढाउने विषयमा वार्ता भएको र विस्तार तुरुन्तै अघि बढने भनिएपनि करीब ६ महिनायताको सो चर्चापनि सेलाएको छ । यसैक्रममा चीन सरकारले दिने उक्त अनुदानकै बारेमा हालसम्म नेपाली पक्षले के र कसरी गर्ने भन्ने कुरामा ढिलाई गरिरहेकाका कारण विस्तार अघि नबढेको सम्बन्धितको दाबी छ । यसैले चक्रपथ विस्तार अन्तर्गतको दोस्रो खण्डको काम नेपाली पक्षकै कारण ढिलाई भएको पनि आयोजनासम्बद्ध एक अधिकारीले दाबी गरे । । करिव ४ महिना अघि नै चिनियाँ पक्षले काम सुरु गर्ने भन्दै यसमा रायसुझावका लागि कुटनीतिक नोट पठाएपनि नेपाली पक्षले त्यसमा उचित रायसुझाव समयमै दिन नसक्दा ढिलाइ भइरहेको उनले बताए ।

गत चैतमा कांग्रेस माओवादीको गठबन्धा सरकार ढलेर नयाँ सरकार गठन भएलगत्तै चिनियाँ राजदूतसहितको टोलीले तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई भेट गरि चक्रपथ विस्तारको काम चाँडै सुरु गर्ने प्रतिवद्धता जाहेर गरेको थियो । तर, चिनियाँ पक्षले काममा तीव्रता दिने बताईरहँदा नेपाली पक्षले वेवास्ता गर्दा समस्या उत्पन्न भएको स्रोतको दाबी छ ।

चिनियाँ पक्षले कुटनीतिक नोट चैतमै पठाएपनि त्यसमा रायसुझावलगायत दिने काम भने अर्थमन्त्रालयले गएको असार अन्तिममा मात्रै परराष्ट्र मन्त्रालयमार्फत पठाएको थियो । अर्थात यसअघि लगातार हिलो र धुलोले आजित भइसकेको सडक विभागले पनि चिनियाँ पक्षले पठाएको परराष्ट्र, अर्थ र भौतिक पूर्वाधार मन्त्रालय हुँदै विभागमा आएको कुटनीटिक नोटमा बैशाखमै केहि राय सुझाव लेखेर भौतिक मन्त्रालयमा पठाइसकेको थियो ।

त्यसलगत्तै भौतिक मन्त्रालयले पनि आफ्नो केहि सुझाव थपेर अर्थमन्त्रालय पठाएपनि अर्थले भने असारमा मात्रै परराष्ट्रमन्त्रालयमार्फत चिनियाँ पक्षलाई पठाएको विभागका महानिर्देशक रामहरि पोख्रेलले बताए । ‘अर्थमन्त्रालयले असारमा मात्रै हामीसँग पुनः केहि थपघट गर्नुपर्ने भए भन्नु भन्नुभएको थियो,’ उनले भने, ‘हामीले रायसुझावलाई अन्तिम रुप दिएर अर्थले असारमै पठाईसकेको छ ।’ उक्त रायसुझावसहितको नेपाली कुटनीतिक नोट चिनियाँ पक्षले पाएपनि उनीहरुले त्यसमा अध्ययन गरेरमात्रै सहायतामा हस्ताक्षर हुने पोख्रेल बताउँछन् ।

उक्त अनुदान स्वीकृत भएपश्चात चिनियाँ कम्पनीले नेपाली पक्षले दिएको रायसुझाव अनुसारको सडकको डिपिआर निर्माण गर्ने चक्रपथ सुधार योजनाका प्रमुख कृष्णनाथ ओझा बताउँछन् । यसअघि २०७५ सालमा पहिलो खण्ड कोटेश्वरदेखि कलंकीसम्म निर्माण सम्पन्न गरेर दोस्रो खण्डको साइट क्लियर गर्न आग्रह गर्दै चिनियाँ ठेकेदारसहितको टोली चीन फर्केको थियो ।

यसबीचमा कोरोना महामारीलगायतका कारण देखाउँदै करिव डेढ बर्ष अघिमात्रै उक्त क्षेत्रको साइट क्लियरको काम सम्पन्न गरेको थियो । पहिलो खण्डमा साइट क्लियर नगरीकनै काम सुरु गरेको चिनियाँ पक्षले काममा बाधा झेल्नुपरेपछि दोस्रो खण्डको साइट क्लियर गर्ने जिम्मा नेपाली पक्षलाई दिएको थियो । सोहीअनुसार नेपाली पक्षले हालसम्म सडकको ३१ मिटर क्षेत्रमा पर्ने सबै संरचना हटाईसकेको छ ।

त्यसमाथि धेरै स्थानमा नेपाली पक्षले गर्नुपर्ने भनिएको साइड लेन निर्माणको काम पनि अघि बढिसकेको योजना प्रमुख ओझाले बताए । ‘हामीले सबै क्षेत्रको साइट क्लियर गरिसकेका छौं, अब चिनियाँ टोली आएर सिधै काम सुरु गरे पुग्छ,’ उनले भने, ‘तर, माथिल्लो निकायमा यस बारेमा हस्ताक्षर नै नभइसकेको भन्ने कुरा आएको छ ।’ नेपाली पक्षले चक्रपथ दोस्रो खण्डको सबै क्षेत्रमा साइट क्लियर गरिसकेपछि चिनियाँ पक्षले काम सुरु गर्नुपर्ने भएपनि हालसम्म मौन रहेको चिनियाँ पक्ष नयाँ सरकारसँगै सक्रिय देखिएको थियो ।

दायाँबायाँको सर्भिस लेनबाहेक बीचको ६ लेन अर्थात २५ मिटर खण्डका लागि साइट क्लियर गर्नुपर्ने शर्त राखेको चिनियाँ पक्षले साइट क्लियर हुँदापनि काम सुरु गर्ने छाँटकाँट भने यसअघि देखाएको थिएन । नेपाली पक्षले गर्नुपर्ने कामका लागि बजेट अभाव र चिनियाँ पक्षको मौनताले चक्रपथको ८.४ किलोमिटरमा पर्ने कलंकी बसुन्धारा क्षेत्र धुलाम्य र हिलाम्य हुने गरेको छ । यो सडकमा गुड्ने सवारी साथै यात्रुले धुलो र हिलोको सास्ती खेप्नुपरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्