Logo

पूर्व भूमिव्यवस्था राज्यमन्त्री रायको गएराति आफ्नै घरमा हत्या

पूर्व भूमिव्यवस्था राज्यमन्त्री रायको गएराति आफ्नै घरमा हत्या



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै ८० वर्षीय रायको हत्या भएको हो ।

प्रहरीकाअनुसार टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । अहिले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख डीआईजी यज्ञ विनोद पोखरेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन,’ डीएसपी श्रेष्ठले भने, ‘तालिम प्राप्त कुकुरसहितको टोली प्रदेश प्रहरी कार्यालयबाट पनि आएको छ । हामी घटनास्थलमै छौं । थप अनुसन्धान हुँदैछ ।’

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ । राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनी अहिले पनि राप्रपामै आवद्ध रहेका स्थानीयले बताएका छन् ।

रायका पत्नी र छोरा–बुहारी काठमाडौँमा बस्ने गरेका स्थानीयले बताएका छन् । ‘उहाँ पनि केही दिनअघि मात्रै घरमा आउनु भएको खुलेको छ,’ डीएसपी श्रेष्ठले भने, ‘हत्याको कारण खुलेको छैन । घरमा एक जना कामदार र उनी मात्रै बस्ने गरेको पाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL