काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुई बस र त्यसका यात्रुको खोजीका लागि भारतीय टोली परिचालन हुने भएको छ ।
गए राति हिंडेको १२ सदस्यीय टोली अहिले रूपन्देही आइपुगेको छ । आज (शनिबार) नै घटनास्थल आइपुगेर टोलीले काम थाल्नेछ । विभिन्न उपकरणसहित आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य शुरु गर्ने सशस्त्र प्रहरी बलका डिआईजी प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए । नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् ।
बेपत्ता बस र यात्रुको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २५ जना यात्रुको शव भेटिएको छ । ३७ जना हराइरहेका छन् ।
गत शुक्रबार सिमलतालमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु थिए । तीन जनाले पौडिएर ज्यान जोगाएका थिए ।