Logo

सेयर बजारमा विष्णुको ‘जय जय’ : पाँच दिनमै २२० अंकको वृद्धि, ५३ अर्ब बढीको कारोबार

सेयर बजारमा विष्णुको ‘जय जय’ : पाँच दिनमै २२० अंकको वृद्धि, ५३ अर्ब बढीको कारोबार



काठमाडौं । यो हप्ता सेयर बजारमा उथलपुथल भयो । करीब ३ बर्षयता १६ सयदेखि २ हजारको विन्दुमा रुमलिइरहेको नेप्सेमा एकाएक उछाल देखियो । बढीमा ५ अर्बसम्म मात्रै पुग्ने गरेको कारोबार एक्कासी १० अर्बमाथि पुग्यो । यसको प्रमुख जस भने लगानीकर्ताहरु नयाँ आएका अर्थमन्त्रीलाई दिन्छन् ।

अघिल्लो हप्तादेखि नै सत्ता समीकरण परिवर्तन भई नयाँ सरकार गठन हुने निश्चित भइसकेको थियो । सो कुराको निश्चितता भएसँगै केही हदसम्म सेयर बजार उकालो लाग्न सुरु पनि गरिसकेको थियो । तर, सेयर बजारले पत्याएका विष्णु पौडेल नै अर्थमन्त्री हुन्छन् भन्ने यकिन भने थिएन । यसैका कारण अघिल्लो हप्ता सेयर बजार पुरानै प्रवृत्तिमा कायम थियो ।

जेठ १७ गते हालका प्रधानमन्त्री केपी शर्मा ओली राती नै देउवा निवास बुढानीलकण्ठ गएको हल्ला फैलियो र सत्ता परिवर्तन हुने निश्चित भयो । त्यसैको भोलिपल्ट असार १८ गते बिहान लगातार २ पटकसम्मक नेप्सेमा सर्किट लागेर बजार बन्द भई पुनः खुल्दा सो दिनमा सेयर बजारमा ४७ अंकको उछाल आएको थियो । अर्थात सरकार नै परिवर्तन हुने निश्चिततापछि सोही दिनदेखि नै सेयरबजारले उकालो यात्रा तय गरिसकेको लगानीकर्ता बताउँछन् ।

त्यसपश्चात सेयर बजारले बीचमा केही उत्तारचढाव बेहोर्नुपरेपनि यो हप्ता भने सेयर बजार उच्च अंक र कारोबार रकमसहित बन्द भयो । यो हप्ता करिव २७ महिनापछिकै उच्च कारोबार विन्दुमा सेयर बजार पुग्यो । हप्ताभर सेयर बजार २ सय १९.७१ अंकले बढेकोे छ । नेप्सेका अनुसार गएको हप्ताको बिहीबारसम्म २२ सय ४ को विन्दुमा पुगेको नेप्से यो हप्ता मात्रै उच्च अंकले बढ्दा २४ सय २४ अर्थात करिव २७ महिनाअघिकै विन्दुमा पुगेर रोकिएको छ । यो हप्ता १४ करोड ४९ लाख कित्ता सेयर ६ लाख ५२ हजार पटक किनबेच हुँदा कारोबार ५३ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक मात्रै १ सय ६६ अंकले उकालो लागेको नेप्सेले जानकारी दिएको छ । यस्तै यसै अवधिमा जलविद्युत समुहको परिसुचकमा ३ सय १० अंकको वृद्धि हुँदा विकास बैंक समुहको परिसुचकमा ४ सय ४१ अंकको वृद्धि भएको देखिन्छ । यसरी पछिल्लो हप्ता प्राय हरेकजसो समुहको परिसुचक ३ सयमाथिको अंकले उकालो लागेका छन् ।

अघिल्ला २ हप्ताझैँ यो हप्ता पनि नेप्से क्रमशः उच्चतम विन्दुहरुतर्फ अघि बढिरहेको तथ्यांकहरुले देखाउँछन् । अझ परिसुचक बढ्ने क्रमलाई कारोबार रकमले पनि उत्तिकै साथ दिईरहेको देखिन्छ । यो हप्ताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक करिव ५३ अंकले उकालो लागेको थियो । उक्त दिन नेप्सेमा कुल २ करोड २० लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि ७ अर्ब ६२ करोड नाघेको थियो । यस्तै सोमबार भने नेप्से परिसुचकमा १७.१८ अंकको गिरावट आएको थियो । उक्त दिन कारोबार रकम भने आइतबारको तुलनामा बढी ८ अर्ब ७३ करोडभन्दा बढी भएको थियो ।

पुनः बुधबार नेप्से परिसुचक एकैदिन ७० अंक अर्थात ३ प्रतिशत बढीले बढ्दै २३ सय १० को विन्दु पारेको गरेको थियो । उक्त दिन सेयर बजारमा ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसैगरी उकालो लागिरहेको नेप्सेले बुधबार र बिहीबार पनि निरन्तरता पायो । जसका कारण यी दुई दिन नेप्से परिसुचक क्रमशः ५४ र ५९ अंकले उकालो लाग्दा कारोबार रकम १२ अर्ब ५ करोड र १५ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।

यस अवधिमा कम्पनीहरुको मूल्यले पनि एकपछि अर्को नयाँ विन्दु तय गरिरहेको देखिन्छ । बजार बढ्नका लागि नीतिगत सुधार, सस्तो ब्याजदर, तरलता अवस्था निकै सहज हुनु नै प्रमुख आधार हुने लगानीकर्ताहरु मान्छन् । पछिल्लो समय बैंकहरुले घटाइरहेको ब्याजदर, नयाँ अर्थमन्त्री र नीतिगत सुधारमा हुने पहलले सेयरबजारलाई पुस गरेको देखिन्छ । यिनै कुराले लगानीकर्ताको मनोबल उच्च हुँदा सेयर बजार पनि पछिल्लो समय लगातार उकालो लागिरहेको सेयर बजारका जानकारहरु बताउँछन् । सेयर बजारमा आएको अहिलेको उछालमा अन्य आधारहरु रहेपनि अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनलाई भने लगानीकर्ताले सबैभन्दा बढी विश्वास गरिरहेको देखिन्छ । यसले धेरै लगानीकर्ताहरु अहिले जय जय विष्णु भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL