Logo

व्यावसायिक बंगुरपालन र फलफूल खेतीबाट आकर्षक आम्दानी, वार्षिक ६० लाखसम्म कारोबार लक्ष्य

व्यावसायिक बंगुरपालन र फलफूल खेतीबाट आकर्षक आम्दानी, वार्षिक ६० लाखसम्म कारोबार लक्ष्य



काठमाडौं ।   भोजपुरका केही युवाले व्यावसायिकरुपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक छन् ।

उनी व्यावसायिक बंगुरपालन र फलफूल खेतीमा जुटेका छन् । उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बंगुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन् । बंगुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बंगुरपालनसँगै फलफूल खेती गरिरहेको उनले बताए । व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बंगुर छन् । भविष्यमा बंगुरपालन तथा फलफूल खेतीबाट वार्षिक ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उनले बताए ।

विदेशमा सात वर्ष बिताएका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताए । ‘वार्षिक १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक आठदेखि १० लाखसम्म आम्दानी हुन्छ’, उनले भने । स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उनी बताउँछन् ।

आफ्नो फार्ममा उत्पादन भएका बंगुर खरिद गर्न ठेकेदार घरमा आउने उनले बताए । फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बंगुरलगायत पालन गरिरहेको उनले बताए । फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बंगुर छन् । ‘बंगुर बिक्रीको कुनै समस्या छैन’, उनले भने, ‘धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।’

कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए । उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको धारणा छ । बंगुरपालन, फलफूल तथा तरकारी खेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL