Logo

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई दूतावासको आग्रह : अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई दूतावासको आग्रह : अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु



काठमाडौं । बंगलादेशमा आरक्षणविरोधी आन्दोलन भड्किएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई दूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेको छ ।

जारी कोटा विरोधी प्रदर्शनमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णय गरिसकेको छ । ढाकास्थित नेपाली राजदूतावासले बुधबार सूचना जारी गर्दै सोही सन्दर्भमा बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

साथै, कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न भनिएको छ । सम्पर्कका लागि दूतावासले द्वितीय सचिव योजना बम्जनको सम्पर्क नम्बर ८८०१८८०६९१०१३ र रिया क्षेत्रीको सम्पर्क नम्बर ८८०१७४५४०७९५८ दिएको छ ।

विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरुको शान्ति, सुरक्षा सुनिश्चित गर्न बङ्गलादेश सरकारका निकायहरु एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ ।

बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने हजार बढी घाइते भएका छन् । बङ्गलादेशका प्रधानमन्त्री र सर्वोच्च अदालतले विद्यार्थीहरूलाई कक्षामा फर्कन गरेको आह्वानलाई बेवास्ता गर्दै प्रदर्शनकारीहरूले विरोध जारी राखेका छन् ।

सरकारले योग्यतामा आधारित योजना ल्याउनुपर्ने माग राख्दै विद्यार्थीहरूले हप्ता दिनदेखि दैनिक विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारले छुट्याएको आरक्षणमा निश्चित समूहले मात्रै लाभ लिइरहेको भन्दै त्यसलाई हटाउन माग गरिरहेका छन् ।

यस व्यवस्थाले सन् १९७१ मा भएको पाकिस्तान मुक्ति युद्धताका महत्वपूर्ण योगदान गरेका राष्ट्र नायकहरूका सन्तानहरूसहित विशिष्ट समूहहरूका लागि निजामती सेवामा आधाभन्दा बढी सिट आरक्षित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्