Logo

गत आवमा नेपालमा ७० अर्बको वैदेशिक लगानी प्रतिवद्धता, २२ हजार बढीले रोजगारी पाउने

गत आवमा नेपालमा ७० अर्बको वैदेशिक लगानी प्रतिवद्धता, २२ हजार बढीले रोजगारी पाउने



काठमाडौं । गत आर्थिक बर्ष २०८०र८१ मा नेपालमा ७० अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक बर्षको साउनदेखि असार मसान्तसम्म विभिन्न ५ सय ४६ परियोजनामार्फत ७० अर्ब २ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

विभागका अनुसार यस अवधिमा ४ सय ७ परियोजनामार्फत ६१ अर्ब ९० करोड रुपैयाँ बराबरको नयाँ लगानी प्रतिवद्धता आएको छ । यसै अवधिमा गत बैशाखदेखि मात्रै संचालनमा आएको विभागको अटोमेटिक रुटबाट भने १ सय ३९ परियोजनामार्फत ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । यो नयाँ परियोजनामा नयाँ लगानी प्रतिवद्धता हो । तर, यसै अवधिमा नेपालमा यसअघि नै संचालित परियोजनहरुमा पनि प्रविधि हस्तान्तरण र पुँजी हस्तान्तरणमार्फत थप ११ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको देखिन्छ । एसपीए र एसएसएमार्फत आउने यस्तो लगानी निश्चित नहुने भएपछि विभागले यो लगानीलाई कुल लगानीसँग मिलाएर गणना भने गर्ने गरेको छैन । यसरी एक बर्षमा आएको कुल विदेशी लगानी प्रतिवद्धतामार्फत २२ हजार ९४ जनाले रोजगारी पाउने बताईएको छ ।

एक महिनामै थपियो २० अर्ब लगानी

गएको आर्थिक बर्षको अन्तिम महिना असारमा नेपालमा झण्डै २० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता थपिएको छ । उद्योग विभागका अनुसार असारमा अटोमेटिक रुट र नयाँ एफडीआई गरी कुल १७ अर्ब ४८ कराेड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता थपिएको हो । जसमा ४८ नयाँ परियोजनामार्फत १७ अर्ब ४८ करोड र अटोमेटिक रुटबाट ४९ परियोजनामार्फत २ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

नेपालमा गएको आर्थिक बर्षभरीमा दर्ता भएका विदेशी लगानीको परियोजनामध्ये सबैभन्दा बढी परियोजना पर्यटन क्षेत्रका छन् । गएको आवमा यो क्षेत्रका १ सय ९७ परियोजना विभागका दर्ता भएका छन् । यो संख्या गत आवमा दर्ता भएका कुल परियोजनाको ४८ प्रतिशत हो । यस्तै यसै अवधिमा विभागमा सेवा क्षेत्रका १ सय ३३, उत्पादनमुलक क्षेत्रका ४६, सूचना प्रविधि क्षेत्रका ११ र कृषि क्षेत्रका ८ परियोजना दर्ता भएका छन् । यस्तै गत आवभरी पूर्वाधार क्षेत्रका ६ र कृषि र उर्जा क्षेत्रका समान ३ परियोजना विभागमा दर्ता भएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL