Logo

बजेट कार्यान्वयनमा सरकार असफल : आम्दानी लक्ष्यको ७४ प्रतिशत, खर्च ८० प्रतिशत, पुँजीगत खर्च नाजुक

बजेट कार्यान्वयनमा सरकार असफल : आम्दानी लक्ष्यको ७४ प्रतिशत, खर्च ८० प्रतिशत, पुँजीगत खर्च नाजुक



काठमाडौं । हरेक बर्ष महत्वाकांक्षी बजेट ल्याउने र त्यसको कार्यान्वयनमा चुक्दै आएको सरकारले गत आर्थिक बर्ष पनि निरन्तरता पाएको छ । सरकारले बजेटमार्फत तोकिएको खर्च र आम्दानीको लक्ष्य भेटाउन नसक्दा सरकार बजेट कार्यान्वयनमा असफल देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक बर्ष २०८०÷८१ मा सरकार खर्च र आम्दानी दुवैको लक्ष्यमा असफल भएको हो ।

राजस्व आम्दानीदेखि खर्च परिचालनसम्म उच्च महत्वकांक्षासहित लक्ष्य निर्धारण गरिएपनि सोहीअनुसार कार्यान्वयनमा भने सरकार चुकेको हो । कार्यालयका अनुसार गत आर्थिक बर्षमा सरकारले लक्ष्यको ७४ प्रतिशत राजस्व आम्दानी र ८० प्रतिशत मात्र खर्च गर्न सक्यो । गत आर्थिक बर्षको बजेटमार्फत सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

यस अवधिमा चालुतर्फ ११ खर्ब ४१ अर्ब, पुँजीगततर्फ ३ खर्ब २० अर्ब र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७४ अर्ब रुपैयाँ खर्च गरिने लक्ष्य निर्धारण गरिएको थियो । तर, आर्थिक बर्षको अन्तिम दिन असार ३१ गते सोमबारसम्म सरकारले कुल खर्च १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ मात्रै कुल खर्च गर्न सकेको छ । यो बजेट लक्ष्यको ८०.४४ प्रतिशत मात्रै हो । अर्थात सरकारले लक्ष्यको करिव साढे ३ खर्ब रुपैयाँ खर्च गर्न नसकेको देखिन्छ ।

यस्तै सरकारले चालुतर्फ भने लक्ष्यको ८३.४१ प्रतिशत खर्च गरेको देखिन्छ । अर्थात ११ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको चालु खर्च गर्ने लक्ष्य लिएको सरकारले अन्तिम दिनसम्म ९ खर्ब ५२ अर्ब रुपैयाँ खर्च गर्न सकेको हो । यता पुँजीगततर्फ भने सरकार हदैसम्मको नाजुक देखिन्छ । सरकारले खर्च र आम्दानीका सबै शीर्षकको लक्ष्य ७० प्रतिशत कटाएपनि पुँजीगत खर्चको लक्ष्य भने ६० प्रतिशतकै आसपास छ ।

गत आर्थिक बर्षमा सरकारले ३ खर्ब २० अर्ब रुपैयाँ पुँजीगत खर्चको लक्ष्य लिएपनि यस्तो खर्च जम्मा १ खर्ब ९१ अर्ब मात्रै गर्न सकेको हो । जुन लक्ष्यको ६३.४७ प्रतिशत मात्रै हुन आउँछ । यता वित्तीय व्यवस्थापनतर्फ भने सरकारले गत आर्थिक बर्षमा लक्ष्यको ८६ प्रतिशत हासिल गर्न सकेको छ । सरकारले गत आवमा ३ खर्ब ७ अर्ब रुपैयाँ ऋणको सावाँ बुझाउने लक्ष्य लिएकोमा अन्तिम दिनसम्म लक्ष्यको ८६.०७ प्रतिशत अर्थात २ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेको हो ।

राजस्व आम्दानीमा पनि असफल

खर्चको लक्ष्यमा पुग्न धौधौ भएको सरकारलाई गत आर्थिक बर्षमा तोकिएको राजस्व आम्दानी गर्न पनि असफल भएको देखिन्छ । सरकारले गत आर्थिक बर्षको बजेटमार्फत १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ कुल राजस्व आम्दानी गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, आर्थिक बर्षको अन्तिम दिनसम्म सरकारले जम्मा १० खर्ब ९३ अर्ब ९७ करोड रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यको जम्मा ७४.२९ प्रतिशत हो । यस अवधिमा सरकारले राजस्वतर्फ ७४.४४ पतिशत यसअन्तर्गत कर राजस्व लक्ष्यको ७२.३५ प्रतिशत, गैरकर राजस्व ९७.६८ प्रतिशत र वैदेशिक अनुदान २२ प्रतिशत मात्रै संकलन गर्न सकेको छ ।

एकैदिन साढे ३७ अर्ब राजस्व संकलन

गत आर्थिक बर्षको अन्तिम दिन सोमबार सरकारी भुक्तानी त्यति नभएपनि राजस्व आम्दानी भने एकैदिन ३७ अर्ब बढी भएकोे छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबारमात्रै सरकारले ३७ अर्ब ३१ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको हो । जसमा राजस्वको हिस्सा २८ अर्ब ५५ करोड २१ लाख रुपैयाँ र वैदेशिक अनुदानको हिस्सा ८ अर्ब ४६ करोड छ । राजस्व आम्दानीमा पनि गैर कर राजस्वतर्फ ११ अर्ब, कर राजस्वतर्फ १७ अर्ब ५३ करोड रुपैयाँ सरकारले सोमबार मात्रै उठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL