Logo

ठमेलबाट २० करोड ३७ लाख मूल्यको ६ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ

ठमेलबाट २० करोड ३७ लाख मूल्यको ६ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ



काठमाडौं । प्रहरीले झण्डै छ किलो कोकिन जस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो ।

प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिन जस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौँले आज यहाँ पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागुऔषधसहित महिलालाई सार्वजनिक गरेको हो ।

ती महिलाले छवटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्याण्डको बैङ्कक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य २० करोड ३७ लाख हुने प्रहरीले जनाएको छ ।

उक्त होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कक हुँदै राति ११ः२५ बजे काठमाडौँ आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजका साथबाट यही जुलाई १९ मा काठमाडौँबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । ती महिलाले ‘मेडियटर’ को काम गरेको अर्को व्यक्ति भारतबाट काठमाडाँै लिन आएको हुनसक्ने प्रहरीको भनाइ छ ।

‘ती महिला पाँच-छ पटक नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले भने, ‘काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएको देखिएको छ, यसबारेमा अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेकी महिला मलेसियाको भाषा मात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको उनको भनाइ छ ।

ती महिलाले कोकिन काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशङ्का गरिएको छ । उक्त कोकिन लिन आउने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । अहिले ठूलो परिणामको लागुऔषधसँगै पक्राउ परेकी ती महिलाले यसअघि पनि पटक पटक नेपाल आउँदा लागुपदार्थको ओसारपसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL