Logo

त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको आज पनि खोजी, गृहसचिव र आईजीसहितको टोली चितवन जाँदै

त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको आज पनि खोजी, गृहसचिव र आईजीसहितको टोली चितवन जाँदै



काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान साढे तीन बजे त्रिशूली नदीमा खसेका दुई वटा बसको अझै पत्तो लागेको छैन । शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी थालिएको हो ।

खोजी कार्यको लागि नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरि पाँच सय बढी सुरक्षाकर्मी खटिएका छन् । आजदेखि घटनास्थल र तलतिर सबै सम्भावित स्थानहरूसँगै देवघाटमा समेत खोजी कार्य जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

आज दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाँदै छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘आज गृह मन्त्रालयका सचिवज्यू आईजीसापहरुका साथ चितवन आउँदै हुनुहुन्छ ।’

दुईटा बस फेला नपरेपछि आजबाट ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो । घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठूलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो ।

शनिबार बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।

परियारको भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा परेका थिए । परियारको शवको पोष्टमार्टम हुन भने बाँकी रहेको छ । यस्तै माझी काठमाडौँबाट सर्लाही जाँदै गर्दै दुर्घटनामा परेका थिए । यसअघि शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा पहिचान खुलेको थियो ।

शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए । काठमाडौंबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना थिए ।

प्रतिक्रिया दिनुहोस्