Logo

प्रधानमन्त्रीमा ओलीको नियुक्ति आज, सोमबार सानो आकारको मन्त्रीपरिषदसहित सपथ लिने

प्रधानमन्त्रीमा ओलीको नियुक्ति आज, सोमबार सानो आकारको मन्त्रीपरिषदसहित सपथ लिने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरिदैछ । शुक्रबार संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओलीले प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए । जसअनुसार एमाले र कांग्रेसका १६६ सांसदको समर्थन ओलीलाई रहेको जिकिरसहितको पत्र राष्ट्रपतिलाई बुझाइएको थियो । सोही पत्रअनुसार राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा आइतबार नै नियुक्त गर्ने तयारी रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो । राष्ट्रपतिलाई संसद सचिवालयले प्रचण्डले विश्वासको मत पाउन नसकेको जानकारी गराउँदै पत्र पठाएपछि उनले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६(२) अनुसारको आह्वान गरेका थिए । जसअनुसार संसदम रहेका दुई वा दुई भन्दा बढी दलका बहुमत सांसदको समर्थनसहित दाबी पेश गर्न राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए । उक्त आह्वानसँगै एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु शीतल निवास पुगेर आफूहरुको बहुमत रहेकाले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न पत्र हस्तान्तरण गरेका थिए ।

पत्रमा कांग्रेसका ८८ र एमालेका ७८ सांसद भएकाले संविधानको धारा ७६को उपधारा २ अनुसार आफूहरूको बहुमत पुग्ने उल्लेख गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । पत्रमा भनिएको छ, ….२८ गतेका दिन नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नको लागि दाबी पेस गर्न आह्वान भएकोमा सो समय सीमा भित्रै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने निम्न दलहरूको समर्थनमा प्रतिनिधि सभामा स्पष्ट बहुमत सहित नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य श्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा हामीहरूको समर्थन भएको ब्यहोरा अनुरोध गर्दछौँ । हामी हस्ताक्षरकर्ता दलको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य सङ्ख्या कुल प्रतिनिधि सभा सदस्य सङ्ख्याको बहुमत रहेको हुँदा उहाँलाई नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिदिनु हुन अनुरोध गर्दछौँ ।’

यसअघि राष्ट्रपति पौडेलले कुन धाराअनुसार नयाँ सरकार गठनको आह्वान गर्ने भनेर कानुनविद्हरूसँग परामर्श गरेका थिए । सो छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । उनीहरुमध्ये धेरैले २ अनुसार नै आह्वान गर्दा फरक नपर्ने राय दिएका थिए । माओवादीसहितका केही पक्षले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६(३) अनुसार नयाँ सरकार गठनको आह्वान हुनुपर्ने जिकिर गर्दै आएका छन् । सो विवाद अदालतसम्म पुग्ने समेत देखिएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रचण्ड पदमुक्त भएका थिए । मतदानमा कुल दुई सय ५८ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सांसदको गरी जम्मा ६३ मत परेको थियो भने विपक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्टीलगायत दलका गरी एक सय ९४ मत खसेको थियो । मतदानमा एक सदस्य तटस्थ रहे ।

कांग्रेससँग सम्बन्ध तोडेर प्रचण्डले चार महिनाअघि एमालेसँग सहकार्य गरेका थिए । तर, त्यसको ४ महिना अर्थात असार १७ मा एकाएक कांग्रेस र एमाले मिलिदिएपछि प्रचण्डको सत्ता संकट आएको थियो । सरकारबाट बाहिरिएसँगै १८ महिनापछि असार २८ गते नै प्रचण्ड खुमलटारस्थित निजी निवास फर्किएका छन् । यस्तै निरन्तर ओरालो यात्रामा रहेको टिप्पणी हुन भइरहेको माओवादीको आगामी भविष्यबारे समेत बहस हुन थालेको छ ।

एमालेका प्रमुख सचेतक महेश वर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्रै सानो आकारको मन्त्रीपरिषदसहित पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिए । पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् । यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लागेका उनले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोगेका थिए ।

यसैबीच ओली नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने दलहरुले सरकारमा पठाउने मन्त्रीका लागि आन्तरिक छलफल तीव्र बनाएका छन् । गठबन्धनमा भागवण्डामा परेका मन्त्रालयमा कसलाई पठाने भन्नेमा मुख्य दलहरु नेपाली काँग्रस, नेकपा एमालेमा रस्साकस्सीको अवस्था रहेको छ । ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL