Logo

ओली सरकारमा कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ? यी नाम सम्भावित सूचीमा सबैभन्दा माथि

ओली सरकारमा कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ? यी नाम सम्भावित सूचीमा सबैभन्दा माथि



काठमाडौं । नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा। प्रकाश शरण महतले जानकारी दिएका छन् ।

कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनौट गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए । उनले प्रधानमन्त्रीको शपथ ग्रहणसँगै मन्त्रीहरूले शपथ ग्रहण गर्ने बताए । कसलाई पठाउने भन्नेबारे भने आन्तरिक गृहकार्य भइरहेको उनले बताए । ‘पटकपटक पठाएर हुँदैन। एकैपटक पठाउने हो । त्यसका लागि आन्तरिक गृहकार्य भइरहेको छ,’ उनले भने । यसैबीच पार्टीको बैठकका साथसाथै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा मन्त्री पठाउने विषयमा आन्तरिक छलफल पनि बढाएका छन् । देउवाले यसपछि पार्टीभित्र सन्तुलन मिलाएर विवाद नआउनेगरी पार्टीबाट सरकारमा मन्त्री पठाउने तयारी गरेका छन् ।

देउवाले यस पटक आफूलाई १४ औं महाधिवेशनमा साथ दिएका प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा मन्त्री पठाउने तयारी गरेका छन् । स्रोतका अनुसार अहिलेसम्म सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासिया मन्त्री बन्ने निश्चित भएको छ । एमालेसँगको सहमतिअनुसार कांग्रेसले बढीमा १० मन्त्रालय पाउनेछ । अहिलेसम्म मन्त्री बन्ने निश्चित भएका परियार शेखर समूहका हुन् । अरु चार जना देउवा निकटकै हुन् । पाँच जनाको नाममा अनौपचारिक सहमति भए पनि थप मन्त्रीको विषयमा देउवाले छलफल गरिरहेका छन्। १४ औं महाधिवेशनबाट देउवा निकटमा रहेका शशांक कोइरालाले पनि एक जना मन्त्री भाग पाउँदैछन् ।

उनले संखुवासभाका दीपक खड्का र दाङका दीपक गिरीमध्ये एकलाई पठाउने तयारी गरेका छन् । यस्तै कर्णाली प्रदेशबाट मुगुका ऐनबहादुर शाही र सुर्खेतका हृदयराम थानीमध्ये एकजना मन्त्री बन्दैछन् । थामी शेखर समूहका हुन् तर, पूर्णबहादुर खड्का देउवा परिवारसँग दूरी बढ्दै गएपछि थानीले सम्बन्ध बढाएको चर्चा छ । यस्तै कांग्रेसका पुराना नेता अर्जुननरसिंह केसी र रामनाथ अधिकारीबारे पनि मन्त्री छलफल भए पनि दुवै नहुन सक्ने बताइन्छ । ओली क्याबिनेटमा सहमहामन्त्री किशोरसिंह राठोर, विनोद चौधरी, उदय शमशेर राणा पनि मन्त्रीको दाबेदार थिए, तर देउवाले आफू प्रधानमन्त्री भएको बेलामा मन्त्री बनाउने भन्दै मनाउने प्रयास गरिरहेका छन् । एमालेसँगको सहमतिअनुसार ओलीपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन् ।
महामन्त्री गगन थापाले पनि आफ्नो कोटामा काठमाडौंबाट निर्वाचित प्रदीप पौडेललाई पठाउन देउवालाई दबाब दिइरहेका छन्, तर पौडेलको नाममा देउवा सकारात्मक भइसकेका छैनन् । थापाले अझै पनि देउवालाई प्रदीपको पक्षमा मनाउने प्रयास भने छाडेका छैनन् । सप्तरीका तेजुलाल चौधरीको पनि चर्चा छ । कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार २० वटा मन्त्रालयलाई प्रभाव,सामथ्र्थ र स्रोत साधनका आधारमा दुई दुई वटामा विभाजित गरेर एक एक बाँड्ने मोटमोटी समझदारी छ ।
कांग्रेस स्रोतका अनुसार गृह र अर्थ, परराष्ट्र र सन्चार, उर्जा र भौतिक पुर्वाधार,सहरी विकास र पर्यटनलाई एक श्रेणीमा राखिएको छ । त्यसो गर्दा परराष्ट्र पाउनेले सन्चार छाड्नेछ भने उर्जा पाउनले भौतिक पूर्वाधार छाड्नेछ । सहरी विकास एउटाले पाउँदा अर्कोले उर्जा पाउनेछ । त्यस्तै स्वास्थ्य र शिक्षा, उद्योग र कृषि, सामान्य प्रशासन र कानून, वन र भूमिसुधार, महिला बालिका र युवा खेलकुद, श्रम र रक्षामध्ये एक एक मन्त्रालय बाँड्ने मोडालिटीमा छलफल भइरहेको छ । यद्यपि केही मन्त्रालयको वर्गीकरण एक अर्कोमा फेरिने वार्तामा सहभागी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL