Logo

ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर त्रिशूलीमा बेपत्ता यात्रुसहितको दुई बस खोजिंदै

ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर त्रिशूलीमा बेपत्ता यात्रुसहितको दुई बस खोजिंदै



काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट शुक्रबार विहान त्रिशूली नदीमा खसेका दुई बस र तिनका यात्रु नभेटिएपछि ड्रोन र सोनार क्यामेराबाट खोजी थालिएको छ । ड्रोन र पानीभित्र पनि हेर्न मिल्ने सोनार क्यामेरा प्रयोग गरी त्रिशूलीमा बेपत्ता बस र यात्रुको बिहानैदेखि खोजी थालिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनले यात्रुसहित बेपत्ता बसको खोजीमा नौं गोताखोरसहित ६० सशस्त्र प्रहरी खटिएको जानकारी दिए । काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन् ।

काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ । उक्त दुर्घटनामा परेका तीन यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन् ।

‘शव फेला परे लैजान्थ्यौं, अरु त केही आश छैन’

चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए । हजुरबुबा दुर्घटनामा परेपछि शुक्रबार चितवन आएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि परिवार र गाउँ नै शोकमा डुबेको बताए । ‘बिहानै दुर्घटनाको खबर पायौं, खोजी गर्न भोकभोकै नदी किनारमा बसेका छौं’, उनले भने ।

आफ्ना भिनाजु दुर्घटनामा परेपछि रौतहटका रमेशकुमार पटेल पनि शुक्रबार नै चितवन आएका छन् । आफन्तसहित एम्बुलेन्स रिजर्भ गरेर आएको उनले बताए । शुक्रबार रातिसम्म कोही पनि फेला नपर्दा जीवितै भेट्टाउने आश मारिसकेको उनको भनाइ छ । पटेलले भने, ‘शव फेला परे लैजान्थ्यौं । अरु त केही आश छैन ।’

बाराको परसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो गरे । आफ्ना दुई छिमेकी बसमा रहेको थाहा पाएपछि घटनास्थलमा आएका उनले हेलिकप्टर र जहाज दुर्घटना हुँदा सबै संयन्त्र प्रयोग गर्ने राज्यले बस दुर्घटना हुँदा खासै वास्ता नगरेको गुनासो गरे । ५० भन्दा बढी परिवार पीडामा रहेको भन्दै उनले राज्यका सबै संयन्त्र परिचालन गर्न अनुरोध गरे ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खटिएको बताए । ‘नदीमा पानीको बहाव घटेको छैन । राति जोखिम हुने भएकाले खोजीकार्य स्थगन गरेका हौँ, आज बिहानैदेखि पुनः खोजीकार्य अघि बढाएका छौं’, उनले भने । यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ । शुक्रबार भेटिएका कपडालाई आधार बनाएर आज खोजबिन गरिने प्रजिअ यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL