Logo

भद्रकाली मन्दिर परिसरका संरचना पुनःनिर्माण सुरु, ३६ करोड लगानीमा सबै संरचनाको पुनर्निर्माण गरिँदै

भद्रकाली मन्दिर परिसरका संरचना पुनःनिर्माण सुरु, ३६ करोड लगानीमा सबै संरचनाको पुनर्निर्माण गरिँदै



काठमाडौं । भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर पुनःनिर्माण थालनी गरेकी हुन् ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, गुठी संस्थान, लुमधि भद्रकाली व्यवस्थापन समितिका पदाधिकारीले जग पूजा गरेका थिए ।

जग राख्नुअगाडि लुमधि भद्रकाली गुथिले शास्त्रीय विधिअनुसार पूजा गरेको थियो । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुननिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ हो । सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कवोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग गएको ज्येष्ठ ६ गते सम्झौता गरेर असार ३ गते कार्यादेश दिइएको छ ।

यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।

पुननिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ । अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ ।

शिलान्यासपछि बोल्दै उपप्रमुख डंगोलले भद्रकाली सबै श्रद्धालुहरुको आस्थाको देवता भएको उल्लेख गर्दै यसको प्राचीनता बचाएपछि सबैले गर्व गर्न लायक स्मारक हुने बताईन् ।

प्रतिक्रिया दिनुहोस्