Logo

प्रतिवद्धताको १४ प्रतिशतमात्रै भित्रियो वैदेशिक लगानी, के हो मुख्य समस्या ?

प्रतिवद्धताको १४ प्रतिशतमात्रै भित्रियो वैदेशिक लगानी, के हो मुख्य समस्या ?



काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा मात्रै सीमित भएको छ । विदेशी लगानीकर्ताले लगानी गर्ने प्रतिवद्धता देखाएपनि सोहीअनुसारको लगानी भने नभित्रने गरेको देखिएको छ । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उद्योग विभागमा गरिएको लगानी प्रतिवद्धताको तुलनामा नेपाल राष्ट्र बैंकमार्फत भित्रिने रकम ज्यादै न्यून रहेको देखिएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म ८ अर्ब २३ करोड ६१ लाख रुपैयाँ मात्रै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो रकम सो अवधिसम्म प्राप्त प्रतिवद्धताको जम्मा १४.८१ प्रतिशत हो । यस अवधिमा उद्योग विभागमार्फत विदेशी लगानीकर्ताहरुले नेपालमा ५५ अर्ब ६० करोड १० लाख रुपैयाँ लगानी भित्र्याउने प्रस्ताव गरेका छन् ।

यसरी प्रस्ताव गरिएकोमध्ये ११ अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव सरकारले बैशाखदेखि संचालमा ल्याएको स्वचालित मार्गबाट आएको छ भने बाँकी ४४ अर्ब ४१ करोड ९८ लाख रुपैयाँ नयाँ परियोजनाहरुमार्फत नियमितरुपमा आएको छ । यस्तै यसै अवधिमा ९ अर्ब ५१ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव नेपालमा संचालित उद्योगहरुमा सेयर पर्चेज एग्रिमेन्ट र सेयर सब्सक्रिप्सन एग्रिमेन्टअन्तर्गत पनि आएको विभागको तथ्यांकमा उल्लेख छ ।

तर, यसरी उच्च अंकमा लगानी प्रस्ताव आएपनि सोहीअनुसार लगानी नभित्रिनुमा सरकारी कानुनी अड्चन्, जग्गा प्राप्तीमा झेल्नुपर्ने समस्या, सरकारी सहजीकरणमा कमीका कारण भनेबमोजिमको लगानी ल्याउनै लगानीकर्तालाई अप्ठ्यारो हुने सरोकारवालाहरु बताउँछन् । अझ प्रतिवद्धता गरेपनि धेरैजसो लगानीकर्ताले विभिन्न चरणमा गरी लगानी भित्र्याउने हुनाले पनि प्रतिवद्धताको तुलनामा भित्रिने रकम न्यून हुने गरेको छ ।

खासगरी विभागमा प्रतिवद्धता जाहेर गर्दैमा त्यसै समयमा लगानी आइहाल्छ भन्ने हुँदैन । कतिपय लगानीकर्ताले लगानी प्रतिवद्धता जाहेर गरेपनि त्यो स्वीकृत नै नहुन सक्छ । स्वीकृत भएपश्चात पनि विभिन्न चरणमा गरी लगानी ल्याउनुपर्ने हुनाले प्रतिवद्धता अनुसारकै लगानी सोही अवधिमा भित्रिने सम्भावना कम हुने उद्योग विभागका सूचना अधिकारी अर्जुन सेन ओली बताउँछन् । ‘लगानी प्रतिवद्धता गरेकै बर्ष उक्त लगानी भित्रिन्छ भन्ने हुँदैन,’ उनले भने, ‘कतिपय लगानीकर्ताले यो बर्ष प्रतिवद्धता जाहेर गरेर अर्काे बर्ष भित्रयाउन सक्नुहुन्छ, जसको हिसाव आगामी आवमा मात्रै देखिन सक्छ ।’ उनका अनुसार प्रतिवद्धता जाहेर गरेपश्चात पनि केहि चरणहरु पार गर्नुपर्ने भएकाले प्रतिवद्धता गरेको केहि समयपछि मात्रै लगानी भित्रिने गरेको छ ।

चालु आर्थिक बर्षमा प्रतिवद्धताको ८५ प्रतिशत न्यून लगानी भित्रिएपनि गत आवको सोही अवधिको तुलनामा भने नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत भित्रिने रकममा वृद्धि देखिएको छ । राष्ट्र बैंकको तथ्यांकलाई केलाउँदा चालु आवको जेठसम्म गत आवको सोही अवधिको तुलनामा एफडीआई रकम २७.६ प्रतिशतले बढेको छ । यस्तो रकम गत आवको यहि अवधिमा करिव ६४ प्रतिशतले घटेको थियो ।

यस्तै नेपालमा यस अवधिमा खुद वैदेशिक लगानी गत आवको तुलनामा ७५.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । चालु आवको जेठसम्म नेपालमा खुद वैदेशिक लगानी ८ अर्ब १६ करोड २२ लाख रुपैयाँ भित्रिएको छ । यो नेपालमा आएको लगानी र नेपालबाट विदेशी लगानीकर्ताले फिर्ता लगेको लगानीलाई हिसाव गरेर निकालिन्छ । चालु आवको जेठसम्म नेपालबाट विदेशी लगानीकर्ताले ७ करोड ३९ लाख रुपैयाँ मात्रै लगानी फिर्ता लगेका छन् । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा ९६ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा विदेशी लगानीकर्ताले नेपालबाट १ अर्ब ८० करोड रुपैयाँ फिर्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL