काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ प्रणालीमार्फत ल्याउन लागेको रिलायन्स स्पिनिङ मिलको आईपीओ रोक्ने भएको छ । रिलायन्सको वित्तीय विवरणमाथि लेखा समितिले प्रश्न उठाएपछि बोर्डले तत्कालका लागि सर्वसाधारलाई आईपीओ जारी प्रक्रिया रोक्न लागिएको बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले बताए ।
‘सार्वजनिक लेखा समितिले रिलायन्सको आईपीओमा जुन प्रश्न उठाएको छ त्यो सार्वजनिक चासोको विषय हो,’ बिजखबरसँगको कुराकानीमा रानाले भने, ‘हामीले लेखाको प्रश्नमाथि जवाफ पठाउँछौं त्यसपछि लेखाबाट जे जवाफ आउँछ, त्यसमाथि छलफल गरेर अघि बढ्नेछौं ।’ साथै लेखाको जवाफ नआएसम्म रिलायन्सको आईपीओ जारी प्रक्रिया रोकिने उनले जानकारी दिए ।
रिलायन्सले बुक विल्डिङ प्रणालीमार्फत यसअघि संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गरेपनि सर्वसाधारणलाई भने यही असार २७ गतेबाट बिक्री खुला गर्दैछ । तर, रिलायन्सले आईपीओ जारी गर्नका लागि तयार पारेको वित्तीय विवरण र हाल सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले प्रक्षेपण गरेको प्रतिसेयर आम्दानीमा ठूलो अन्तर देखिएपछि लेखा समितिले मंगलबार बोर्डलाई सो विषयमा स्पष्टतासहित एक हप्ताभित्र जवाफ पठाउन निर्देशन दिएको थियो ।
लेखा समितिले कम्पनीले तयार पारेको वित्तीय विवरणमा म्यानुपुलेशन भएको र यसबाट सर्वसाधारण लगानीकर्ता मारमा पर्नेभन्दै सोको जवाफदेहिताको विषयमा बोर्डमाथि प्रश्न उठाएको छ । सोहीअनुरुप बोर्डले तत्काल रिलायन्सको आईपीओ जारी प्रक्रिया रोकेर उक्त वित्तीय विवरणमाथि छानविन गरी लेखा समितिलाई जवाफ पठाउन लागिएको अध्यक्ष रानाले जानकारी दिए ।
विद्युत महशुल बक्यौता विवादका कारण लामो समयदेखि रोकिएको रिलायन्सको आईपीओ नयाँ अध्यक्ष आएसँगै बोर्डका नियमन विभागका कार्यकारी निर्देशक मक्तिनाथ श्रेष्ठले जसरी पनि स्वीकृति दिनुपर्ने भन्दै एकलौटी तरिकाले अघि बढाएका थिए । कार्यकारी निर्देशक श्रेष्ठको सिफारिसका आधारमा अध्यक्ष रानाले उक्त आइपीओ स्वीकृत गरेका थिए ।
आइपीओ स्वीकृत भएसँगै कम्पनीको पछिल्लो समय प्रकाशित वित्तीय विवरण र विद्युत महशुल बक्यौताका कारण उक्त कम्पनीको आईपीओ विवादमा तानिएको थियो । वित्तीय विवरणको आधारमा लेखाले उठाएको प्रश्न तथा नेपाल विद्युत प्राधिकणले विद्युत महशुल बक्यौता तिर्न ताकेका गर्दै लाइन कटौती गरिदिएपछि बोर्डले तत्काल आईपीओ जारी प्रक्रिया रोक्ने निर्णय गरेको हो ।