Logo

रिलायन्सको बुक विल्डिङमा लेखा समितिको चासो : आईपीओ रोकिने, तत्काल विस्तृत विवरण पठाउन बोर्डलाई निर्देशन

रिलायन्सको बुक विल्डिङमा लेखा समितिको चासो : आईपीओ रोकिने, तत्काल विस्तृत विवरण पठाउन बोर्डलाई निर्देशन



काठमाडौं । वित्तीय विवरणका कारण विवादमा आएको रिलायन्स स्पिनिङ मिलको बुक विल्डिङ प्रक्रियामार्फत जारी गर्न लागेको आईपीओ रोकिने भएको छ । अहिलेकै अवस्थामा कम्पनीले तोकेको मूल्यमा आईपीओ जारी गर्न दिँदा सर्वसाधारण लगानीकर्ता ठगिने भन्दै संसदको सार्वजनिक लेखा समितिले सोको विस्तृत विवरण पेश गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

कम्पनीले बुक विल्डिङमार्फत सेयर जारी गर्दा सर्वसाधारणमा जारी गरेको आब्हान पत्रअनुसार वित्तीय विवरणको प्रक्षेपण नमिलेको र उक्त कम्पनीको आधार मूल्य तय गर्दा तथा संस्थागत लगानीकर्ताले विड गर्दा चलखले भएको हुनसक्ने भन्दै लेखा समितिले सोको सम्पूर्ण विवरण पेश गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको हो ।

रिलायन्सले बुकविल्डिङमा आईपीओ ल्याउनका लागि गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो भने चालू आवमा ३२ रुपैयाँ ९० पैसा हुने प्रक्षेपण गरेको थियो । तर, कम्पनीले सार्वजनिक गरेको चालू आवको चैतसम्मको वित्तीय विवरण अनुसार उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा खुम्चिएसँगै लेखा समितिले लगानीकर्ता फस्ने भन्दै तत्काल विस्तृत विवरण पठाउन निर्देशन दिएको हो ।

लेखा समितिले आजैमात्र पत्र काटेको र उक्त पत्रअनुसार तत्कालका लागि रिलायन्सले सर्वसाधारणका लागि जारी गर्न लागेको आइपीओ रोकिने बोर्ड स्रोतले जानकारी दिएको छ । ‘रिलायन्सले बुक विल्डिङमार्फत आईपीओ ल्याउदा आधार मूल्य के आधारमा तय गरिएको हो ? बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको विधी के हो भन्ने प्रश्न सोधेको छ,’ धितोपत्र बोर्ड स्रोतले भन्यो, ‘कम्पनीले तीनवटै आर्थिक वर्षका लागि प्रक्षेपण गरेको प्रतिसेयर आम्दानी घट्दै गएको र चालू आवमै सोभन्दा धेरै कम अर्थात २ रुपैयाँमा झरेकाले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा धितोपत्र बोर्डको धारणा के हो ? भन्ने समितिको पत्रमा छ’

कम्पनीले आफैले निर्धारण गरेको आधारमूल्य अनुसार पनि संस्थागत लगानीकर्ताहरुले सो कम्पनीको सेयर प्रतिकित्ता ६०८ रुपैयाँमा खरिद गर्न पाउने थिए । तर, संस्थागत लगानीकर्ताले अधिकतम मूल्य अर्थात ९१२ रुपैयाँमा खरिद गरेका थिए । लेखाले संस्थागत लगानीकर्ताले विडिङ गर्दा नै चलखेल भएको हुन सक्ने भन्दै रिलायन्समा बुकविल्डिङका लागि विड गर्ने योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका संचालकहरुसँग स्वार्थ बाझिएको छ कि छैन ? बुक विल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए सोको समेत विस्तृत विवरण पठाउन लेखाले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । साथै कम्पनीको आधार मूल्य तय गर्दाकै बखतमा पनि वित्तीय विवरणमा चलखेल भएको लेखा समितिको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL