Logo

नेपाली ब्राण्डमा नेपालमै विद्युतीय बस उत्पादन गर्दै ‘कोशी एनके मोटर्सं’, महिनामै ७५० वटासम्म सवारी उत्पादन गर्ने

नेपाली ब्राण्डमा नेपालमै विद्युतीय बस उत्पादन गर्दै ‘कोशी एनके मोटर्सं’, महिनामै ७५० वटासम्म सवारी उत्पादन गर्ने



काठमाडौं । नेपालमा अब नेपाली ब्राण्डकै विद्युतीइ बसहरु उत्पादन गर्ने गरी ‘कोशी एनके मोटर्सं’ ले काम सुरु गरेको छ । असार १६ गते उद्योग विभागबाट लगानीको स्वीकृति पाएको कम्पनीले आगामी बर्षदेखि नेपालमा आफ्नै ब्राण्डका विद्युतीय बसहरु उत्पादन गर्ने तयारीसहित काम सुरु गरेको हो । कम्पनीले १ अर्ब ३२ करोड लगानी प्रस्ताव गरेको विभागले जानकारी दिएको छ ।

मोरङको बुढीगंगामा प्लान्ट स्थापना गर्नेगरी कम्पनीले उक्त क्षेत्रमा १५ बिगाह जग्गा खरिद गरिसकेको छ । उक्त जग्गामा प्लान्ट स्थापनाका लागि हाल प्लान्टको डिजाईन तयार भइरहेको कम्पनीका अध्यक्ष टिकाराम पुरीले बिजखबरलाई जानकारी दिए । कम्पनीले २ बर्ष अघिदेखि नै नेपालमा विद्युतीय प्यासेन्जर सवारीसाधनहरु निर्माण गर्ने तयारी गरेको थियो ।

सोहीअनुसार कम्पनीले २०७९ फागुन १२ गते कोरियाको सियोलमा कोरियाको एसडीके मोटर्ससँग नेपालमा विद्युतीय गाडी उद्योग स्थापना गर्ने सम्झौता गरेको थियो । सम्झौतापत्रमा एनके मोटर्सका अध्यक्ष टीकाराम पुरी र कोरियाली कम्पनीका कार्यकारी अध्यक्ष डेइकी जङले हस्ताक्षर पनि गरेका थिए । तर, उक्त कोरियाली कम्पनीसँगको सम्झौता रद्द गरी कम्पनीले चिनियाँ कम्पनीसँगको सहकार्यमा विद्युतीय गाडीहरु उत्पादन सुरु गर्न लागेको हो ।

गएको बैशाख १७ गते पुनः कम्पनीले चीनको स्यामन गोल्डेन ड्रागन (एसजीडी) अटोबडी कम्पनीसँग विद्युतीय गाडी उत्पादनका लागि सम्झौता गरेको थियो । यसअघि कोरियाली कम्पनीसँग सम्झौता गरिएपनि उक्त कम्पनी सप्लायर्सजस्तो मात्रै हुने भएपछि सम्झौता रद्द गरिएको कम्पनीका अध्यक्ष पुरी बताउँछन् ।

‘हामीले २ बर्षअघि कोरियाली कम्पनीसँग सम्झौता भन्दा पनि एमओयु मात्रै गरेका थियौं, एमओयुमा बाध्यत्मक परिस्थिति लागू हुँदैनन्,’ पछि बुझ्दै जाँदा कम्पनीले हामीलाई चीनबाट आयात गरेर पार्ट्सहरु उपलब्ध गराउने थाहा पाएपछि बरु सीधै चिनियाँ कम्पनीसँग सम्झौता गर्नेगरी अघि बढेका हौं ।’ उनले चिनियाँ कम्पनीले प्राविधिक सहयोग मात्रै गर्ने र कम्पनीले उत्पादन गर्ने गाडीहरु नेपाली ब्राण्डकै हुने बताए ।

हाल प्लान्ट स्थापनाका लागि डिजाइनको काम पनि चिनियाँ कम्पनीले नै गरिरहेको छ । उक्त डिजाइन सम्पन्न भइसकेपछि नक्सा पासको काम अघि बढ्ने उनको भनाई छ । त्यसपश्चात मात्रै प्लान्ट निर्माण र उपकरणहरु आयातको काम अघि बढाइने कम्पनीको तयारी छ । यसरी हेर्दा प्लान्ट स्थापना हुन लगभग एक बर्षको समय लाग्ने भएपछि आगामी बर्ष मात्रै कम्पनीले नेपाली ब्राण्डको गाडी उत्पादन सुरु गरी बजारमा ल्याउनेछ । बस कुन ब्राण्डमा उत्पादन हुने भन्ने हालसम्म एकिन नभएको उनले बताए ।

‘हामीले सुरुवातमा विद्यालयका लागि स्कुल बस उत्पादन गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘त्यसपश्चात ठुला यात्रुबाहक बस, हायस, पिकअपलगायतका गाडी उत्पादन गर्दै जानेछौं ।’ उनले प्लान्ट स्थापना भइसकेपछि प्रतिमहिना ७ सय ५० बसहरु उत्पादन गर्न सकिने बताए ।

त्यसका लागि कम्पनीले भारत, चीनलगायतका देशहरुबाट उपकरणहरु र पार्टपुर्जा आयात गरी जडान गर्नेछ । कतिपय नेपालमा उत्पादन भएका जस्तै टायर, प्यानललगायत भने नेपाली नै प्रयोग हुने पुरी बताउँछन् । नेपालमा हाल सबैजसो उपकरणहरु उपलब्ध नभएकाले सुरुवाती चरणमा कम्पनीले विदेशी उपकरणहरु ल्याएर जोड्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्