Logo

भोटेकोशी विद्युत आयोजनाको सुरुङमा पुरिएका दुई मजदुरको शव १२ घण्टापछि भेटियो

भोटेकोशी विद्युत आयोजनाको सुरुङमा पुरिएका दुई मजदुरको शव १२ घण्टापछि भेटियो



काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, हिन्दीमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेर बेपत्ता भएका दुई मजदुरको शव फेला परेको छ ।

आयोजनामा बेपत्ता भएको १२ घण्टापछि शनिबार बिहान ४ बजे बर्दियाको ठाकुरबारा नगरपालिका–३ का ३० वर्षीय रामदिन थारु र ठाकुरबाबा–५ का ३० वर्षीय सुमन थारुको शव भेटिएको हो । उनीहरु आयोजना निर्माणमा खटिँदै आएका मजदुर हुन् । उनीहरू दुवै जना शुक्रबार दिउँसो १ बजेर २५ मिनेटमा आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए । प्रहरी निरीक्षक जोशीका अनुसार शव पोस्टमार्टमका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको छ ।

ड्याम साइडको सुरुङ भत्किँदा शुक्रबार साँझ १२ मजदुर पुरिएका थिए । पुरिएकामध्ये १० मजदुरको घाइते अवस्थामा राति नै उद्धार गरिएको भए पनि बेपत्ता दुई मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए ।

‘शुक्रबार साँझ सुरुङभित्र पुरिएका दुई मजदुरको शव शनिबार बिहान ४ बजे निकालिएको छ’, डीएसपी भट्टराईले भने, ‘घाइते १० जनाको सिन्धुपाल्चोक र काभ्रेका असप्तालमा उपचार भइरहेको छ ।’ भोटेकोशी जलविद्युत् आयोजना–१ को ड्याम साइडको सुरुङको ढलान गर्ने क्रममा शुक्रबार साँझ सल्याबको ढलान भासिँदा घटना भएको उनले बताए । गम्भीर अवस्थाका चार जनालाई थप उपचारको लागि काभ्रेको धुलिखेल ल्याइएको छ । घटनास्थल सिन्धुपाल्चोक सदरमुकाम बाह्रबीसेबाट ७० किलोमिटर उत्तर पूर्वमा पर्छ ।

यी हुन् १० घाइते

१. जिल्ला बर्दिया बार बर्दिया नपा बस्ने बर्ष अंन्दाजी ४० को लहानु थारु अवस्था मध्यम (हल्का बोल्न सक्ने) धुलिखेल आस्पताल रिफर ।
२. ऐऐ नपा५ बस्ने वर्ष अंन्दाजी ४५ को दुर्गा चौधरी । पेटमा चोट अवस्था मध्यम, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा सामान्य उपचार पश्चात धुलिखेल रिफर ।
३. ऐऐ बस्ने बर्ष अन्दाजी ४० को आइतमान थामी। बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा सामान्य उपचार पश्चात धुलिखेल रिफर ।
४. जिल्ला दोलखा कालिञ्चोक गापा ९ बस्ने वर्ष अन्दाजी ४१ को आइतबहादुर थामी ढाडमा चोट । अवस्था मध्यम बाह्रविसे किस्टोन अस्पतालमा उपचार भईरहेको अवस्था मध्यम ।
५. ऐऐ बस्ने वर्ष अन्दाजी ३१ को विजय थामी दुवै खुट्टामा चोट। अवस्था मध्यम (हल्का बोल्न सक्ने) किस्टोन अस्पतालमा उपचार भईरहेको ।
६. ऐऐ बस्ने वर्ष अन्दाजी ३० को दिपक थामी बाह्रबप्से किस्टोन अस्पतालमा उपचार भईरहेको। अवस्था मध्यम ।
७. ऐऐ बस्ने वर्ष अन्दाजी ४५ को पदमबहादुर थामी बाह्रविसे किस्टोन अस्पतालमा उपचार भइरहेको। अवस्था मध्यम ।
८. जिल्ला रोल्पा लिबाङ नपा २ बस्ने वर्ष २३ को सासन रोका मगर। बाह्रविसे किस्टोन अस्पतालमा उपचार भइरहेको, अवस्था मध्यम ।
९. ऐऐ बस्ने वर्ष अन्दाजी ५६ को गोपाल थामी । बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा उपचार भई रहेको ।
१०. जिल्ला दोलखा बैतेश्वर गापा ८ बस्ने वर्ष ५८ को राम चन्द्र रिमाल। भित्री चोट (बोल्न सक्ने) बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा उपचार भई रहेको ।

प्रतिक्रिया दिनुहोस्
MBL