Logo

पहिरोले विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध, यात्रुहरु अलपत्र

पहिरोले विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध, यात्रुहरु अलपत्र



काठमाडौं । गए रातिदेखिको अविरल वर्षाका कारण सिन्धुलीमा पहिरो जाँदा विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ । शनिबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमिरेफाडस्थित पहिरो खस्दा विपी राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

त्यस्तै गोलन्जोर गाउँपालिका–६ अक्करेभीरमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ । डिएसपी खड्काका अनुसार पहिरोका कारण सवारी साधन दुइतर्फी नै बन्द भएका छन् । पहिरोमा फसेका सवारी साधनहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको र स्थानीय तहहरूसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको डिएसपी खड्काले जानकारी दिए ।

रुकुम पूर्व र पश्चिमलाई मुख्य राजमार्ग र सहरसँग जोड्ने राप्ती लोकमार्ग र मध्यपहाडी राजमार्गको यात्रा बर्खायाममा जोखिपूर्ण बनेको छ । तुलनात्मक रुपमा राप्ती लोकमार्गभन्दा मध्यपहाडी राजमार्ग यतिबेला जोखियुक्त छ । निर्माणको अन्तिम चरणका रहेको यो मार्ग अन्तर्गत रुकुम पूर्व–पश्चिम खण्डका दर्जनौं ठाउँमा माथिबाट पहिरो खस्ने, सडक भासिने र खहरे बढेर आवागन नै अवरुद्ध हुने गरेको मध्यपहाडी राजमार्ग आयोजना कार्यलय दैलेखका इन्जिनियर नवीन खरेलले जानकारी दिए ।

पूर्वको बागलुङ सीमाना आसपास, धौलापहिरा, रानीकोट र खोपिराचार आसपास तथा पश्चिमको किटेनी भीर, खरखरे, सिम्ली आसपास, चाइनागर आसपास र कालेखोलालगायतका ठाउँमा पहिरो र भेलले जोखिम बडेको इन्जिनियर खरेलको भनाइ छ । ‘पश्चिममा भूकम्पले जमिन हल्लाएको र पूर्वमा रानीकोट आसपासमा सडक निर्माणधीन अवस्थामा रहेका कारण पहिरो झर्ने गरेको छ,’ उनले भने ।

झरी सुरु भएको केही दिन मात्रै भएको अवस्थामा पनि यो मार्गमा आवागमन एकदमै असहज भइरहेकाले दिनानु दिन यात्रुहरु अलपत्र पर्ने गरेका छन् । मध्यपहाडी राजर्गमा यात्रारत यात्रु रमेश विष्टले पहिरोका कारण आफू घण्टौ बाटोमा रोकिनु परेको अनुभव सुनाए । ‘चौरजहारी नजिकैको कालेखोलामा बाढी आउँदा तीन घण्टा रोकिनु पर्‍यो,’ उनले भने, ‘कहाँनिर कतिबेला के हुने हो केही भन्न सकिने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL