Logo

पोर्चुगल पेनाल्टी सुटआउटमा पराजित भएसँगै रोनाल्डोको सपना चकनाचुर, सेमिफाइनल पुगे फ्रान्स र स्पेन

पोर्चुगल पेनाल्टी सुटआउटमा पराजित भएसँगै रोनाल्डोको सपना चकनाचुर, सेमिफाइनल पुगे फ्रान्स र स्पेन



काठमाडौं । आयोजक जर्मनी युरोकप २०२४ बाट शुक्रबार बाहिरिएको छ । स्पेनले अन्तिम आठको खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । अब अन्तिम चारमा स्पेनको सामना फ्रान्ससँग हुनेछ । फ्रान्सले अर्को अन्तिम आठको खेलमा पोर्चुगललाई टाइब्रेकरमा ५–३ ले हरायो ।

स्टुटगार्टमा भएको खेलमा स्पेनका लागि मिखेल मेरिनाले अतिरिक्त समयको अन्त्यतिर निर्णायक गोल गरे । गोलरहित बराबरीपछि डानी ओल्मोले ५१ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । तर ८९ औं मिनेटमा जर्मनीका लागि जासुआ किमिचले जर्मनीका लागि बराबरी गोल गरे । यससँगै खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि एक मिनेटको खेल बाँकी छँदा प्रतिस्पर्धा टाइब्रेकरमा जाने सम्भावना देखिएको थियो । तर ओल्मोले हेडबाट गोल गरे र आफ्नो टिमलाई जित दिलाए । यससँगै स्पेनको चौथो पल्ट युरोको उपाधि जित्ने सम्भावना कायम रह्यो ।

ह्याम्बर्गमा फ्रान्सले क्रिस्टियानो रोनाल्डोको युरो जित्ने सपनालाई टुंग्याएको थियो । निर्धारित र थपिएको समयको खेल पनि गोलरहित रहेपछि खेल टाइब्रेकरमा गएको हो । पोर्चुगलका लागि पेनाल्टी सुटआउटमा जाओ फेलिक्स गोल गर्न चुके । योसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको दोस्रो पटक युरोकपको उपाधि जित्ने सपनामा चकनाचुर बनेको छ । उनले यसअघि नै यो आफ्नो अन्तिम युरो हुने बताइसकेका छन् ।

रोनाल्डोले सन् २००४ देखि नियमित रूपमा युरोकपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरोकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । उनी युरोकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । फ्रान्सको पाँचै पेनाल्टी गोलमा परिणत भएको थियो । थिओ हर्नान्डेजले विजयी टिमका लागि अन्तिम तथा निर्णायक प्रहारलाई गोलमा परिणत गरे । प्रतियोगिताको सेमिफाइनलमा फ्रान्स पुगेको यो छैटौं पटक हो । जर्मनी र फ्रान्सबीचको अन्तिम चारको खेल मंगलबार हुनेछ । शनिबार इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीबीच अन्तिम आठको खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL