Logo

उमेशलाल श्रेष्ठले सवा अर्ब लगानीमा औषधि कम्पनी खोल्दै, क्वेष्टको दोस्रो युनिट र आरएण्डडी भक्तपुरमा

उमेशलाल श्रेष्ठले सवा अर्ब लगानीमा औषधि कम्पनी खोल्दै, क्वेष्टको दोस्रो युनिट र आरएण्डडी भक्तपुरमा



काठमाडौं । क्वेष्ट फर्मास्युटिकल्स कम्पनीले दोस्रो नयाँ कम्पनी खोल्ने भएको छ । नेपालमा बर्षौंदेखि औषधि उत्पादन गर्दै आएको क्वेस्ट फर्मास्युटिकल्सले १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको लगानीमा दोस्रो युनिट स्थापना गर्न लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्षसमेत रहेका उमेशलाल श्रेष्ठलगायतको समूहले नेपालम पहिलोपटक अनुसन्धान र विकास (आरएण्डडी) लाई केन्द्रमा राखेर थप गुणस्तरीय औषधि विकास गरी बजारमा पठाउनका लागि नयाँ लगानी थप गरेको हो ।

नयाँ कम्पनी स्थापनाको लागि कम्पनीले २ बर्ष अघिदेखि नै प्रक्रिया अघि बढाएपनि चालु बर्षको बैशाखमा मात्रै थप लगानीका लागि उद्योग विभागबाट स्वीकृति पाएको थियो । बैशाख १७ गते उद्योग विभागले कम्पनीलाई थप १ अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबर लगानी गर्न स्वीकृति प्रदान गरेको थियो ।

त्यसपश्चात भौतिक संरचना बन्ने भक्तपुरको करिव १० रोपनी जग्गामा कम्पनीले नक्सा पासको कामसमेत अघि बढाएर अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको नाममा रहेको करिव १० रोपनी जग्गामध्ये हाल २ रोपनी जग्गामा भौतिक संरचना बन्ने र बाँकी रहेको जग्गामा भविष्यमा आवश्यक परेको खण्डमा संरचना निर्माण गर्नेगरी काम अघि बढेको कम्पनीका व्यवसाय तथा प्रर्वद्धन निर्देशक उत्तमकुमार श्रेष्ठले जानकारी दिए । कम्पनीले नयाँ लगानीलाई रिसर्च एण्ड डेभलपमेन्टमा केन्द्रित गरेकाले विदेशमा बन्ने विभिन्न औषधिहरुको नेपालमै फर्मुलेसन गर्न लागिएको हो ।

कम्पनीको वीरगंजमा रहेको फ्याक्ट्री साँघुरो भएकाले पनि थप लगानीसहित नयाँ संरचना निर्माण गर्नुपरेको कम्पनीका निर्देशक श्रेष्ठ बताउँछन् । ‘हामीले काठमाडौंमै धेरै प्राविधिक जनसंख्या बस्न रुचाउने हुनाले र वीरगंजमा केहि साँघुरो पनि भएकाले भक्तपुरमा नयाँ संरचना निर्माण गर्न लागेका हौं,’ उनले भने, ‘यहाँबाट विशेषगरी विदेशी औषधिहरुको फर्मुलेसनको काम हुनेछ ।’ नयाँ संरचना निर्माणका लागि सबै काम सकिसकेकाले अब केहिदिनमै संरचना निर्माणको काम अघि बढ्ने श्रेष्ठले जानकारी दिए ।

सन् १९९९ मा स्थापना क्वेस्ट फर्मास्युटिकल्सले मुटु, मधुमेह र छालाका साथै अन्य विभिन्न रोगहरूका लागि आवश्यक १०० बढी प्रकारका औषधी उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । यसमध्ये २५ प्रकारका औषधि मधुमेह र मुटुसम्बन्धी रोगका लागि उत्पादन गर्दै आएको कम्पनीको भनाई छ ।

मुटु र मधुमेहको औषधि उत्पादनमा क्वेस्ट नेपालको अगुवा (लिडिङ) कम्पनी पनि हो । कम्पनीले विदेशबाट कच्चा वस्तु आयात गरेर विभिन्न प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ । उद्योगको संस्थापकमा उमेशलाल श्रेष्ठ, पृथ्वी भण्डारी, उत्तमकुमार श्रेष्ठ र शैलेन्द्रप्रसाद वर्मा छन् ।

प्रतिक्रिया दिनुहोस्