Logo

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित, यस्तो छ निलम्बनपछि ढकालको प्रतिक्रिया

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित, यस्तो छ निलम्बनपछि ढकालको प्रतिक्रिया



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार १२ घण्टा भन्दा समय बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट समेत निलम्बन गरेको हो ।

ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ ।

साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्तासमेत तोकिएको छ । त्यस्तै रास्वपाले ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप केन्द्रीय समितिले लगाएको छ । बैठकमा महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए ।

आफ्नो निलम्बनबारे मुकुल ढकाल भन्छन्–जनताको आवाज बोल्दा रविविरुद्ध भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले जनताको पक्षमा बोल्दा आफूमाथि कारबाही भएको बताएका छन् । पार्टीले कारबाही गर्दै निलम्बन गरेपछि सामाजिक सञ्जालमार्फत ढकालले बोलेकै आधारमा आफूमाथि निलम्बनको पत्र थमाइएको दाबी गरेका छन् ।

‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ । बालहठ जस्तो होस् , अस्वाभाविक लागोस् वा अव्यवहारिक जनताले जसरी बताए त्यसरी नै बताइदिएँ’, उनले लेखेका छन्, ‘प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै । जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेविरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर बोलिदिएँ । जनताको पक्षमा बोल्न पर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ ।’

रास्वपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको थियो । सभापति रवि लामिछानेले देश बनाउँछन् भन्ने ठानेर कतिपय कुरा गलत लाग्दा लाग्दै पनि आफूले मानिदिएको उनले बताएका छन् । ‘प्रचण्डसँग सहमति गरेर आइसकेपछि, सरकारमा जाने भन्नु भयो । मैले उहाँको आदेश अनुसार प्रस्तुति दिएँ, मैले सोचें, मेरो कर्तव्य हो र यो मान्छेले देश बनाउँछ साथ दिनुपर्छ’, उनले लेखेका छन्, ‘तर सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शंका लाग्यो– यो मान्छेले देश बनाउँछ वा बनाउँदैन ।’

पद गौण भएकाले जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नुपर्छ भन्ने लागेर आफू बोलेको डा. ढकालको जिकिर छ । ‘सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भएँ । मलाई शंका लाग्यो, प्रतिवेदनलाई फास्सफुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL