Logo

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, मुक्तिनाथ जाने भारतीय पर्यटक बाटोमै रोकिए

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, मुक्तिनाथ जाने भारतीय पर्यटक बाटोमै रोकिए



काठमाडौँ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेकोे बताए । वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उनले जानकारी दिए । उनले भने, ‘अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैन, अहिले पनि सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ ।’

यसैगरी करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिरोले सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण खुलाउन नसकिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ सिधा यातायताबाट बिच्छेद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL