Logo

एमालेका मन्त्रीहरुले राजीनामा दिदैं, शंकर पोखरेल भन्छन-राजनीतिक स्थायित्वका लागि कांग्रेससँग सहमति गर्यौं

एमालेका मन्त्रीहरुले राजीनामा दिदैं, शंकर पोखरेल भन्छन-राजनीतिक स्थायित्वका लागि कांग्रेससँग सहमति गर्यौं



काठमाडौँ । नेकपा एमालेबाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् ।

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाएर जाने सहमति भएपछि एमालेले सरकार छोड्न लागेको हो । मन्त्रीहरुले राजीनामा दिनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त्र गर्न आग्रह गर्ने र प्रधानमन्त्रीले राजीनामा नदिएमा एमालेका मन्त्रीहरुले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ ।

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।

राजनीतिक स्थायित्वका लागि कांग्रेससँग सहमति गर्यौं : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी नेपाली कांग्रेससँग समझदारी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले राजनीतिक स्थायित्वका लागि संबिधान संशोधन गर्ने र ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताएका हुन् ।

आफ्नो सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदअनुरुप कानून समेत निर्माण गर्नेगरी केपी शर्मा ओलीको नेतृत्त्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी भएको छ । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL