Logo

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि शुरु, सरकारले ब्युँतायो पुरानै छनोट समिति

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि शुरु, सरकारले ब्युँतायो पुरानै छनोट समिति



काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष चयन गर्न यसअघिकै सदस्यहरु रहेको समिति गठन गरेको छ । मन्त्रिपरिषदको बैठकले बोर्ड अध्यक्ष छान्न सो समिति गठन गरेको हो । राष्ट्रिय योजना आयागका उपाध्यक्ष मिनवहादुर श्रेष्ठको अध्यक्षतामा गठित समितिमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र प्राध्यापक उदय निरौला सदस्य छन् । यसअघि पनि सोही समितिले काम गरेको थियो । आवेदक ५ जनामध्ये ३ जना अन्तर्वार्तामा नआएपछि छनौट प्रक्रिया रद्द भएको थियो ।

नवगठित समितिले मंगलवारबाटै काम गर्ने बताइएको छ । २० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ । योजना आयोगमा उपाध्यक्षले नै यो विषय हेरिरहेकाले सोही व्यवस्थाअनुसार श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको हो । समितिले कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने र त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान ऐनमा छ ।

यसअघि समितिले निवेदन आह्वान गर्दा १९ जनाले निवेदन दिएको थियो । त्यसमध्ये ५ जनालाई समितिले सर्टलिस्ट गरेको थियो । तर, तीमध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भए भने कृष्णबहादुर कार्की, डा नवराज अधिकारी तथा चीरञ्जीवी चापागाईं अनुपस्थित भए ।

तर, ऐनमा कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान भएकाले सिफारिस समितिले प्रक्रिया नै रद्द गरिदिएको थियो । नियोजित रुपमा एक जनालाई अध्यक्ष नियुक्त गर्ने योजना अनुसार प्रक्रिया बढाएपछि तीन जनाले प्रक्रियाको विरोध गर्दै सहभागीता जनाएनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL