Logo

नेपालका बैंक वित्तीय संस्थामार्फत पौने ४० अर्ब शंकास्पद कारोबार, यस्तो छ राष्ट्र बैंकको प्रतिवेदन

नेपालका बैंक वित्तीय संस्थामार्फत पौने ४० अर्ब शंकास्पद कारोबार, यस्तो छ राष्ट्र बैंकको प्रतिवेदन



काठमाडौं । नेपालका बैंक वित्तीय संस्थाहरु मार्फत ४० अर्ब बराबरको शंकास्पद कारोबार भएको पाइएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको फाइनान्सियल इन्टेलिजेन्स इकाई (एफआइयु) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन २०२३ मा नेपालका विभिन्न बैंक वित्तीय संस्थाहरुमार्फत ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको देखिएको हो ।

प्रतिवेदनमा उल्लेख भएअनुसार यसमध्ये सबैभन्दा बढी शंकास्पद कारोबार वाणिज्य बैंकहरुमार्फत भएको देखिन्छ । सन २०२३ सम्ममा वाणिज्य बैंकहरुमार्फत ३८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ बराबरको यस्तो कारोबार भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै विकास बैंकहरुमार्फत ४७ करोड २२ लाख, धितोपत्र दलाल कम्पनीहरुमार्फत ४२ करोड ९६ लाख, वित्त कम्पनीहरुमार्फत २६ करोड ५१ लाख र रेमिट्यान्स कम्पनीहरुमार्फत ११ करोड १३ लाख रुपैयाँ शंकास्पद कारोबार भएको देखिएको हो । यस्तै जीवन बीमा कम्पनी, भुक्तानी सेवाप्रदायक कम्पनी, सहकारी, मर्चेन्ट बैंकर र लघुवित्त कम्पनीहरुमार्फत पनि उत्तिकै शंकास्पद कारोबार हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन २०२३ मा मात्रै यी सबै वित्तीय संस्थाहरुबाट ६ हजार २ सय ५५ पटक यस्तो कारोबार भएको पनि प्रतिवेदनमा उल्लेख छ । यसअघि सन २०२२ मा यस्तो कारोबारको संख्या ३ हजार ९ सय ७९ मात्रै थियो । यसरी हेर्दा एक बर्षमै वित्तीय संस्थाहरुमा यस्तो कारोबार २ हजार २ सय ७६ पटकले बढेको देखिन्छ ।

खासगरी सरकारले नेपाललाई ग्रे लिस्टमा पर्नबाट जोगाउन अघिल्ला बर्षहरुदेखि नै नेपाल राष्ट्र बैंकले विभिन्न नीतिहरु परिवर्तन गर्दै आइरहेको छ । तर, यी नीतिहरुले यस्तो कारोबारमा प्रत्यक्ष प्रभाव नपारेको यो प्रतिवेदनले देखाएको छ । सन २०२३ मा वाणिज्य बैंकहरुमा मात्रै ५ हजार २ सय ८२ पटक शंकास्पद कारोबार भएको देखिन्छ । यस्तै विकास बैंकमा ३ सय ३० पटक, भुक्तानी सेवाप्रदायहरुमा २ सय ११ पटक, रेमिट्यान्स कम्पनीमा १ सय ५६ पटक, वित्त कम्पनीमा ९९ पटक यस्तो कारोबार भएको प्रतिवेदनमा उल्लेख छ ।

जसमा सबैभन्दा बढी कारोबार मनी लाउन्डरिङसँग सम्बन्धित छन् । गत बर्ष यससम्बन्धी ३ हजार १ सय ९९ पटक कारोबार भएको देखिएको छ । यस्तै राजश्व ठगीसम्बन्धी १ हजार ८ सय ६८ कारोबार, वित्तीय कारोबारमै १ हजार ४० कारोबार, ठगीमा ५ सय ६५ पटक यस्तो कारोबार भएको देखिएको छ । क्यासिनो, अनलाइन गेमिङ, कम्पनीसँग सम्बन्धित कारोबार, भ्रष्टाचारलगायतबाट पनि यस्तो कारोबार थुप्रै हुने गरेको प्रतिवेदनमा उल्लखे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL