Logo

गएरातिको वर्षाले गुल्मी, बागलुङ र स्याङ्जामा पहिरो, नौ जनाको मृत्यु

गएरातिको वर्षाले गुल्मी, बागलुङ र स्याङ्जामा पहिरो, नौ जनाको मृत्यु



काठमाडौं । गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । शुक्रबार रातिको अविरल बर्षाका कारण आएको पहिरोमा परेर अर्जे ठाँटीपोखरीका यमबहादुर विक भन्ने भेषबहादुर कामीको घर पुरिएको हो ।

पहिरोमा पुरिएका घरमुली ५५ बर्षका भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए । पहिरोका कारण रातिबाट बेपत्ता भएका पाँच जनाको खोजी कार्यको लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए ।

बागलुङमा घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ । गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

सुतिरहेका बेला पहिरोले घर पुर्दा स्याङजामा आमा–छोरीको गयो ज्यान

स्याङ्जामा पहिरोले घर पुर्दा आमा–छोरीको ज्यान गएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गए राति पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जिटी र उनकी तीन बर्षकी छोरी निकिसा जिटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

जिटीको ढुङ्गा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको प्रवक्ता रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL