Logo

पूर्वअध्यक्ष हावी हुँदा ‘गरिमा बैंक’को गरिमा जोगाउन चुनौती, सिइओ कमजोर बन्दा बैंकभित्र संकट बढ्दो

पूर्वअध्यक्ष हावी हुँदा ‘गरिमा बैंक’को गरिमा जोगाउन चुनौती, सिइओ कमजोर बन्दा बैंकभित्र संकट बढ्दो



काठमाडौं । स्वार्थ समुह हावी हुँदा गरिमा विकास बैंकको ‘गरिमा’ नै संकटमा पर्ने देखिएको छ । विशेषगरी बैंकका पूर्व अध्यक्षले बैंकलाई आफ्नो स्वार्थ अनुरुप संचालन गर्न खोज्दा समस्या निम्तिएको हो ।

गरिमा बैंकलाई लामो समय प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गरेका गोविन्दप्रसाद ढकाल कार्यकालका कारण बाहिरिएसँगै स्वार्थ समूह हावी हुँदा बैंकको भविश्य नै के हुने हो भन्ने चिन्ता उत्पन्न भएको एक संस्थापक सेयरधनीले बताए । यसअघि पनि बैंक सञ्चालक समितिमा रहेका केहीले स्वार्थ समूह खडा गरेर बैंकमा हावी हुन सधै प्रयास गर्दै आएपनि आफ्नोे कार्यकालमा भने ढकालले त्यस्तो चलखेललाई रोक्दै आएका थिए ।

तर गत चैत्र ३० गते तत्कालीन सिइओ ढकालको कार्यकाल समाप्त भएसँगै बैंकको नेतृत्व माधवप्रसाद उपाध्यायले लिए । सोअनुसार उपाध्यायले बैशाख १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाले । उपाध्याय यसअघि कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत रहेका थिए । ढकाल बाहिरिएसँगै र उपाध्याय सिइओको जिम्मेवारीमा आएपछि भने पहिलेदेखि नै बैंकमा आफ्नो मनोमानी गर्न खोजिरहेको समूह बैंक छिर्यो र अहिले बैंकलाई संकटको बाटोतर्फ उन्मुख गराउन थालेको छ । जसको नेतृत्व भने बैंकका संस्थापक पूर्वअध्यक्ष रहेका जलेश्वर पाण्डेले गरिरहेका छन् ।

पछिल्लो समय पाण्डे बैंकमा यसरी हावी भएका छन् कि बैंकमा सिइओ उपाध्यायको भूमिका नै खुम्चिएको छ । बैंकका एक उच्चतहका कर्मचारीका अनुसार अहिले बैंक सबै पाण्डेले चलाइरहेका छन् । कर्मचारी सरुवा–बढुवादेखि ड्राइभर र कार्यालय सहयोगीहरुको खटनपटनसम्ममा पाण्डेको निर्देशन चल्ने गरेको छ । जलेश्वर पाण्डे र उनका मान्छे दिनभर सीईओ माधबसँग बसिदिँदा बैंकका कर्मचारीहरुले सीईओसँग भेट्न र बैंक सम्बन्धी आवश्यक छलफल गर्न समेत अवरोध हुने गरेको कर्मचारीहरुको गुनासो छ । पूर्व अध्यक्ष पाण्डे समुहले बैंकलाई आफ्नो स्वार्थ अनुरुप संचालन गर्न खोज्दा बैंकको प्रशासनिक खर्च समेत ह्वात्तै बढ्न पुगेको छ । यतिसम्म कि पाण्डेका आगन्तुकलाई खाना–खाजा र स्वागतमा अप्रत्याशित ढंगले खर्च बृद्धि भएको छ । ‘बैंकमा पूर्वअध्यक्षको भूमिका केही नभएपनि पाण्डे सरका लागि एउटा कार्यकक्ष नै पूरै उपलब्ध छ । बैंकको बिलमा उहाँका लागि एउटा रेष्टुरेन्ट र एउटा फलफूल पसल नै चलिरहेका छन’, ती कर्मचारीले भने ।

पछिल्लो समय पाण्डेको मनपरी चल्दा बैंकका धेरैजसो कर्मचारीहरु रुष्ट बन्दै गएका छन् । कतिपय कर्मचारीले त पाण्डेको निर्देशन सामूहिक रुपमा अवज्ञा गर्ने जनाउ दिइसकेका छन् । धेरैजसो उपल्लो तहका कर्मचारीहरु भने पाण्डेको बैंकमा अहिलेकै हरकत जारी रहने हो भने काम गर्न नसकिने र बैंक पनि डुब्ने भन्दै चिन्तित बनेका छन् । ‘पाण्डेको बैंकभित्रको चलखेलले गरिमा बैंकको अवस्था के हुने भन्ने चिन्ता बढेको छ,’ एक कर्मचारीले भने ।

पाण्डेको बैंकभित्र अनधिकृत चलखेल बढेपनि सिइओ उपाध्याय भने चूप बस्ने गरेका छन् । यसको प्रमुख कारण भने पाण्डे सिइओ उपाध्यायका गुरु पनि हुन् । विद्यालय समयमा स्याङ्जामा अध्ययन गर्दा उपाध्याय पाण्डेको विद्यार्थी थिए । अहिले पाण्डेले आफ्नो विद्यार्थी सिइओ भएको समय पारेर बैंकमा हैकम जमाइरहेको देखिन्छ । उपाध्याय सिइओ बनेयता बैंकको खर्चमा पनि अनावश्यक वृद्धि गरिएको बैंक स्रोतले बतायो । पहिलेका सिइओ ढकालका पालामा भन्दा उपाध्यायका लागि झण्डै दोब्बर खर्चको आवास उपलब्ध गराइएको छ । त्यस्तै उपाध्यायका लागि करोडौं मूल्यको नयाँ गाडी खरिद गरिएको छ । ‘सिइओलाई सुविधा बढाएर बैंकमा स्वार्थ समूहले खेलिरहेका छन’, स्रोतले भन्यो ।

बैंकमा अहिले पाण्डे किन हावी भए भन्ने विषय भने बैंकमा संस्थापक रहेका दिलिपप्रताप खाँडसम्म जोडिन्छ । पहिले वालिङ नगरपालिकको मेयर रहेका खाँड यसपटकको निर्वाचनमा मेयर पदमा पराजित भएसँगै फेरि बैंकको सञ्चालक समितिमा फर्कने प्रयासमा छन् । आफु बाहिर रहेपनि बैंकमा सधै आफ्नो प्रभाव रहिरहोस भन्ने चाहना राख्ने खाँड सधै सञ्चालक समितिमा हावी हुने गरेका छन् । वर्तमान अध्यक्ष श्याम बस्यालपनि खाँडकै रोजाइमा अहिले बैंकको अध्यक्ष बनेका हुन् । यद्यपि बस्याल भने बैंकमा कुनैपनि चलखेल गर्ने र स्वार्थ हावी गर्नमा संलग्न भएका छैनन् । उनी केवल खाँडको इच्छामा अध्यक्ष भएको देखिन्छ र उनलाई बैंकको विषयमा कुनै चासो पनि रहेको देखिदैन । यस्तोमा पाण्डे अहिले सर्वेसर्वा भएको देखिन्छ ।

बैंकमा पाण्डेको चलखेलमा भने बैंकभित्रकै केहीले भने फाइदा उठाइरहेको पनि स्रोतले बताएको छ । पाण्डेको मुख्य सहयोगीका रुपमा अहिले बैंकको लजिष्टिक र जनरल सर्भिस विभागका प्रमुख रहेका अनुमान श्रेष्ठले सघाइरहेको स्रोतले बतायो । सानो एकजिल्ले बैंक गरिमासँग गाभिंदा स्वत पदस्थापन पाएर आएका अनुमान श्रेष्ठको अहिलेको चुरीफुरी देखेर सिनियर कर्मचारीहरु अचम्ममा पर्ने गरेका छन् । पुर्ब सीईओको चाकरी गर्न र प्रसंशा गर्न नथाक्ने गरेका श्रेष्ठ नयाँ सीईओ आउनासाथ पहिलेको सिस्टम अब चल्दैन, नयाँँ तरिकाले चल्नुपर्छ भन्दै घुमाउरो पाराले अघिल्लो व्यवस्थापनको आलोचनामा व्यस्त रहने गरेको उनका सहकर्मीहरु बताउँछन् ।

सीईओ नियुक्ति भएयता उपाध्यायले बैंकको व्यापार वृद्धि, व्यबसायिक सम्पर्क बिस्तार, नियमन तथा प्रवद्र्धनतर्फ खासै चासो नराख्ने बरु स्वार्थ समूहको चाकरीमै समय बिताउने गरेको कुरा कर्मचारीवृतमा ब्यापक चर्चा र चासोको बिषय बनेको छ । कर्मचारीभित्र पनि उनको अकर्मण्यताले अनुशासनहिनता बढ्न थालेको छ । पूर्व सीईओले तत्कालको लागि प्राथमिकतामा नराखेको केन्द्रीय कार्यालयको लागि घर–जग्गा खरिदको प्रक्रिया नयाँ सीईओ नियुक्तिसंगै अघि बढ्नु र त्यसको लागि पाण्डेसमेत अन्य २ जना प्रमोटर र अनुमान श्रेष्ठ लागिपरेको देखिन्छ ।

पाण्डे र श्रेष्ठको मिलमतोमा अन्य कर्मचारहरुमाथि अत्याचार भइरहेको भन्दै बैंकका केही कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी गर्ने तयारी पनि गरिरहेको बताइएको छ । ‘पहिले स्याङ्जामा आफैं प्रधानध्यापक भएको विद्यालयको करोडौं रुपैयाँ अनियमितताको आरोप लागेका पाण्डेको अहिलेको चलखेलले बैंकमा संस्थागत सुशासन कायम राख्न पनि समस्या पर्ने देखिन्छ’, बैंकका एक अधिकारीले भने, ‘सोहीअनुरुप नेपाल राष्ट्र बैंकले पनि सुक्ष्म ढंगले बैंकको गतिविधिमा निगरानी बढाएको छ ।’ सो विषयमा पूर्वअध्यक्ष पाण्डेसँग पटक–पटक सम्पर्क गर्न खोजेपनि उनीसँग सम्पर्क हुन सकेन ।

यता बैंकका सहायक मुख्य अधिकृत तथा प्रमुख सूचना अधिकारी अनिल रेग्मी भने बैंकमा पाण्डेको हस्तक्षेप भएको भन्ने विषयमा आफु जानकार नभएको बताउँछन् । ‘उहाँ पूर्वअध्यक्ष भएकाले कहिलेकाही बैंकमा आउनुभएको होला । त्यसबाहेक बैंकका गतिविधिमा उहाँको हस्तक्षेप केही छैन् । पूर्वअध्यक्षले बैंकमा कसरी हस्तक्षेप गर्न सक्छ ? बैंकमा त्यस्तो कुनै पनि समस्या छैन्’, सूचना अधिकारी ढकालले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL