Logo

सात महिनाअघि रुसी सेनामा भर्ना भएका तनहुँका गुरुङको मृत्यु

सात महिनाअघि रुसी सेनामा भर्ना भएका तनहुँका गुरुङको मृत्यु



काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई सात महिनाअघि रुसी सेनामा भर्ना भएका एक युवाको ज्यान गएको छ । रुसी सेनामा भर्ना भएका रञ्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो ।

रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । उनले भने, ‘सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनु हुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो ।’

गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरे । ‘फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्’, गुरुङले भने । स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको जानकारी दिएका छन् । उनले भने, ‘घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ ।’

आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गरे । उनले भने, ‘मेरो वडाले एक होनहार युवा गुमाएको छ ।’ रुसी सेनामा भर्ना भएका तनहुँका नांै जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL