Logo

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको राहत, पुँजी कोष दबाबमा रहेकाले अग्राधिकार सेयर जारी गर्न पाउने

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको राहत, पुँजी कोष दबाबमा रहेकाले अग्राधिकार सेयर जारी गर्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजी कोषको दबाबमा रहेका बैंक तथा वित्तीय संस्थालाई अग्राधिकार सेयर जारी गर्न पाउने सुविधा दिएको छ । केन्द्रिय बैंकले बुधबार सर्कुलर जारी गरेर सञ्चिति नोक्सानीमा गएका बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणपत्र जारी गर्ने विकल्प खुल्ला गर्दै पुँजी कोषको दबाब खेपिरहेकाहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने बाटो खोलिदिएको हो।

यद्यपि राष्ट्र बैंकले अगाधिकार सेयर जारी गर्न विभिन्न सर्त तोकेको छ । जसमा अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न नपाइने, अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्ने, अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नु पर्ने साथै यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्ने उल्लेख छ ।

यसैगरि अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्ने, अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुने र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ । साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनु पर्नेछ ।

यस्तै अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ यसका लागि संचित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न नपाइने, अविमोच्य असञ्चिति अग्राधिकार सेयरमार्फत नोक्सानी प्रशोचन गर्ने सम्बन्धमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्नुपूर्व यस बैंकको स्वीकृति लिनुपर्नेछ।

यस व्यवस्थाका लागि साधारण सेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको ५.१२५ प्रतिशत भन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिने, खण्ड (ख) बमोजिम अविमोच्य असञ्चिति अग्राधिकार सेयरलाई संस्थापक समूहको साधारण सेयरमा परिणत गर्नुपर्न र यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि सुत्र विवरणपत्रमा उल्लेख गर्नुपर्ने छ ।

यसैगरि इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा यस प्रकारको सेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई रिस्क डिस्क्लोजर एक्सपोजर सार्वजनिक गर्नुपर्नेछभने इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्ने लगानीकर्ताबाट देहायबमोजिम व्यवस्था समेत समावेश गरी लिखित सहमति लिनुपर्नेछ । राष्ट्र बैंकले उपयुक्त व्यवस्था क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ लागु हुने इजाजतपत्रप्राप्त संस्थाको हकमा मात्र लागु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्