Logo

देशका विभिन्न भागमा वर्षासँगैको चट्याङ लागेर सात जनाको मृत्यु, केही गम्भीर घाइते

देशका विभिन्न भागमा वर्षासँगैको चट्याङ लागेर सात जनाको मृत्यु, केही गम्भीर घाइते



काठमाडौं । वर्षासँगै परेको चट्याङले रोल्पामा दुई महिलाको मृत्यु भएको छ । प्रहरीले मंगलबार बिहान १ बजेतिर चट्याङ पर्दा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ का दुई महिलाको ज्यान गएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहरी–३ बाहिरीगामस्थित दाङ्जा गाउँका २२ वर्षीया जैता घर्ती मगर र १४ वर्षीया गोमाला घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको हो । सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरलाई उद्धृत गर्दै प्रहरीले रातीको समयमा चट्याङ पर्दा एउटै घरभित्र सुतेका नन्द भाउजु नाता पर्ने दुई महिलाको मृत्यु भएको जनाएको हो ।

घटना हुँदा जैताका श्रीमान लोकेन्द्र भने कामको सिलसिलामा बागलुङ गएका थिए । घटनाको अनुसन्धान गर्न गामस्थित प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाश बिष्ट र इलाका प्रहरी चौकी सुलीचौरका प्रहरी निरीक्षक सन्तोष घिमिरेको टोली घटनास्थल पुगेको थियो । मृतकको शव सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमका लागि ल्याइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले बताए ।

कपिलवस्तुमा चट्याङ लागेर खेत जाँदै गरेका १८ र २२ वर्षका युवकको मृत्यु

बुधबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । खेतमा काम गर्न जाने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा यशोधरा गाउँपालिका–६ भैसाहीयाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका–१० प्रेम नगरका १८ वर्षीय राजु ठाकुरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए । दुबै जनाको शव पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल ल्याइएको छ ।

खेतमा काम गरिरहेका बेला चट्याङ लागेर कैलालीमा दुई जनाको मृत्यु

कैलालीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । जिल्लाको जोशीपुर गाउँपालिका– ३ भितरीया जयराम डंगौराको र धनगढी उपमहानगरपालिका–१८ मा सालिक चौधारीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुवैको आज बिहान खेतमा काम गर्दैगर्दा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपीक्षक कविन्द्र बोहराले जानकारी दिए । त्यस्तै जिल्लाको भजनी नगरपालिका–६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् । आज विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत गम्भीर घाइते भएका छन् ।

पिसाब फेर्न घर बाहिर निस्केका बेला चट्याङ लागेर मृत्यु

अविरल वर्षासँगै परेको चट्याङका कारण लमजुङमा एक जनाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका–७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको वडाअध्यक्ष लक्षुमन गुरुङले जानकारी दिए । उनका अनुसार गए राति (मंगलबार राति) २ बजेतिर पिसाव फेर्न भनी बाहिर निस्केको बेलामा चट्याङले लागेर मृत्यु भएको बुझिएको छ । चट्याङले छिमेकीको मिटरका बक्सहरूमा समेत क्षति पुगेको वडाअध्यक्ष गुरुङले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मिनबहादुर घलेले चट्याङका कारण मानिसको मृत्यु भएको खबर प्राप्त भएको र गिलुङ प्रहरी चौकीबाट प्रहरी घटनास्थल खटिएको बताए । घटनाको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।

यस्तै चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए । अधिकारइको सुन्दर बजारस्थित नमुना अस्पतालमा उपचार भइहेको छ । चट्याङका कारण बेंसीसहर नगरपालिका ६, शेराका मदन परियारको एउटा गोरु मरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL