Logo

जीवन बीमा कम्पनीले एकै महिनामा उठाए १२ अर्ब, ११ महिनामा १ खर्ब ३३ अर्ब बीमाशुल्क संकलन

जीवन बीमा कम्पनीले एकै महिनामा उठाए १२ अर्ब, ११ महिनामा १ खर्ब ३३ अर्ब बीमाशुल्क संकलन



काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले गएको जेठ महिनामा मात्रै १२ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा मात्रै विभिन्न १४ जीवन बीमा कम्पनीहरुले १२ अर्ब २६ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

एकै महिना १२ अर्ब बढी संकलन गरेका यी बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिना (साउनदेखि जेठसम्म)मा १ खर्ब ३३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको पाइएको छ । यस्तो बीमाशुल्क आर्जन गएको बैशाख मसान्तसम्म १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ थियो । जेठ मसान्तसम्म बीमा कम्पनीले संकलन गरेको रकम गत आर्थिक बर्षको यही अवधिको तुलनामा साढे ७ प्रतिशतले बढी हो । गत आवको यही अवधिसम्म नेपालमा संचालित बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

यस्तै यी कम्पनीहरुले आर्जन गरेको प्रथम बीमाशुल्कको अवस्था पनि त्यस्तै छ । चालु आवको जेठ मसान्तसम्म १४ जीवन बीमा कम्पनीहरुले ३ अर्ब ३३ करोड ४१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । यो गएको बैशाख महिनाको तुलनामा २० प्रतिशतले बढी हो । गएको बैशाख महिनामा सबै जीवन बीमा कम्पनीहरुले जम्मा २ अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

यसरी जेठ मसान्तसम्म प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनीको पहिलो स्थानमा भने नेपाल लाइफ इन्स्योरेन्स छ । यो कम्पनीले चालु आवको जेठ मसान्तसम्म ८३ करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । यस्तै यसै अवधिमा नेशनल लाइफले ४४ करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा एलआइसी नेपालले ३५ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

बीमा प्राधिकरणलाई आधार मान्दा यस अवधिमा सूर्यज्योति लाइफले २३ करोड १९ लाख, हिमालयन लाइफले २३ करोड ५ लाख, सानिमा रिलायन्स लाइफले १८ करोड २९ लाख, एशियन लाइफले १८ करोड २६ लाख र सन नेपाल लाइफले १७ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन आर्जन गरेका छन् ।

यसैगरी सिटिजन लाइफले १६ करोड ९५ लाख, आइएमई लाइफले १४ करोड ७१ लाख, रिलायबल नेपाल लाइफले १३ करोड ९२ लाख, मेट लाइफले ११ करोड १६ लाख, प्रभु महालक्ष्मी लाइफले १० करोड र राष्ट्रिय जीवन बीमा कम्पनीले २ करोड ९३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । चालु आर्थिक बर्षको ११ महिनामा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ४ लाख ३० हजार बीमालेख विक्री गरेका छन् भने हालसम्मै सक्रिय रहेका बीमालेखको संख्या १ करोड ४० लाख १२ हजार नाघेको छ ।

यस अवधिमा यी बीमा कम्पनीहरुले २ अर्ब ८७ करोड रुपैयाँ वैदेशिक रोजगार बीमालेख विक्री गरेर संकलन गरेका छन् । यस्तो बीमालेख चालु आवको जेठसम्म बीमा कम्पनीहरुले २० लाख सक्रिय बीमालेखमार्फत संकलन गरेका हुन् । यसरी चालु आवको जेठसम्म संकलन भएको कुल बीमाशुल्कमध्ये ५८ अर्ब ९२ करोड रुपैयाँ आर्जन भएको छ । यस्तै लुम्बिनी प्रदेशबाट २१ अर्ब ९ करोड, कोशीबाट १६ अर्ब २७ करोड, गण्डकीबाट १३ अर्ब ६५ करोड, मधेशबाट १२ अर्ब ११ करोड, सुदूरपश्चिमबाट ८ अर्ब र कर्णाली प्रदेशबाट ३ अर्ब ६१ करोड रुपैयाँ संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL