Logo

पोखरामा पृथ्वी राजमार्ग भासियो, गाडी एकतर्फी

पोखरामा पृथ्वी राजमार्ग भासियो, गाडी एकतर्फी



काठमाडौं । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा रातभर निरन्तर वर्षा भएको छ । मंगलबार राति ९ बजेदेखि सुरु भएको वर्षा अहिले बिहान ७ बजेसम्म निरन्तर भइरहेको छ । रातभरको वर्षाले पोखरा महानगरपालिका–१४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी अवरुद्ध भएको छ ।

पोखरा आउने सवारी विजयपुर खोलाको पारी र पोखराबाट बाहिरिने सवारी चाउथेमा रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो । अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधन समेत प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले सडक अहिले एकतर्फी खुलाइएको जानकारी दिए ।

सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ । उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको शर्माले बताए । ‘सडक मर्मत गरेर खुलाउने प्रयास भइरहेको छ । कुनै मानवीय क्षति छैन’, उनले भने ।

वडाध्यक्ष बोधराज कार्कीकाअनुसार अहिले तत्कालका लागि डोजरले बाटो मिलाउने र एकतर्फी सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ । बाटो खुलाउन नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको वडाध्यक्ष कार्कीले बताए । साथै यस कार्यमा पृथ्वी राजमार्ग निर्माण कम्पनी चिनियाँ टोलीले पनि सहयोग गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL