Logo

लमजुङ बगुममा पहिरोले तीन घर बगायो, आमा र दुई छोरीसहित चारको मृत्यु

लमजुङ बगुममा पहिरोले तीन घर बगायो, आमा र दुई छोरीसहित चारको मृत्यु



काठमाडौं । लमजुङको क्ब्होंलासोथर गाउँपालिका–३ मा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गए राति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परी चार जनाको मृत्यु भएको हो ।

स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको वडासदस्य विनप्रसाद घलेले जानकारी दिएका छन् । पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षीय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षीया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो ।

रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य घलेले जनकारी दिए । पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन् । घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए । उत्तरकन्याका वडाअध्यक्ष आशवीर गुरूङका जनप्रतिनिधिको टोली पनि घटनास्थल पुग्दैछ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL