Logo

गोदाममा हजारौं बोरा मल, किसानलाई भने पाउनै धौधौ

गोदाममा हजारौं बोरा मल, किसानलाई भने पाउनै धौधौ



काठमाडौँ । ओमसतिया गाउँपालिका–३ का श्रीपत गडेरियाको खेतमा रहेको बीउ रोप्नको लागि तयार भएको छ । बीउ तयार हुनुभन्दा पहिलेदेखि उनी खेतमा हाल्ने मलको लागि पासबुक बोकेर पालिकाले तोकेको लगनशील महिला विकास बचत तथा ऋण सहकारी संस्था धाउँदै छन् तर अहिलेसम्म मल पाउन सकेका छैनन् ।

पालिकाले उनलाई कृषक मलखाद्य वितरण पुस्तिका (पास बुक) बनाएर दिएको छ तर सो पासबुक पाएयता उनले गतवर्ष एक बोरा डिएपी मल मात्र पाएको देखिन्छ । गोदाममा आएको मल एउटादेखि अर्को ट्रकमा लोड अनलोड गर्ने मजदूरले समेत मल नपाएको गुनासो गरिरहेका छन् । रुपन्देहीका प्राय सबै कृषक मलकै लागि भौतारिरहेका छन् ।

एक बोरा मलको आशमा किसान भौतारिइरहँदा कृषि सामाग्री कम्पनी लिमिटेडको गोदाममा भने हजारौँ बोरा डीएपी, युरिया र पोटास मल मौज्दात रहेको छ । तर गोदामको यो मल किसानको लागि ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ सरह भएको छ । हजारौँ बोरा मल हुँदा पनि कृषकको पहुँचसम्म पुग्नै सकेको छैन ।

श्रीपतकै जस्तै गुनासो छ रामबहादुर थारुको पनि । उनले पनि समाचारमा पर्याप्त मल रहेको सुनेको तर समाचारमा आएजस्तो मलको उपलब्धता नरहेको बताए । किसानले मल नपाएको गुनासो गरिरहँदा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रबन्धक बलबहादुर पन्थले भने गत वर्षहरूको जस्तो मलको अभाव नरहेको दाबी गरे ।

पन्थले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा अहिले ६ हजार ६ सय ६८ मेट्रिक टन युरिया, १ सय ७७ दशमलव ३ मेट्रिक टन डिएपी मौज्दात रहेका छन् । दाङको लमहीमा २२ दशमलव ५ मेट्रिक टन युरिया, १ सय ८९ दशमलव ८ मेट्रिक टन डिएपी, घोराहीमा ८ सय ४ दशमलव ५५ मेट्रिक टन युरिया, २ सय ३२ दशमलव ९ मेट्रिक टन डिएपी र तुलसीपुरमा २ सय २६ दशमलव ८ मेट्रिक टन युरिया तथा ३ सय ६४ दशमलव ३ मेट्रिक टन डिएपी मौज्दात रहेको छ ।

पाल्पामा १ सय ९ दशमलव ७ मेट्रिक टन युरिया, ४६ दशमलव ६ मेट्रिक टन डिएपी मौज्दातमा छ। तौलिहवामा ३ सय ७२ दशमलव ५ मेट्रिक टन युरिया, ४ सय ९७ दशमलव २ मेट्रिक टन डिएपी र बहादुरगञ्जमा १ सय ६१ दशमलव १ मेट्रिक टन युरिया र १ सय ८४ दशमलव ९ मेट्रिक टन डिएपी मौज्दात रहेको छ ।

परासीमा २५ दशमलव ७ मेट्रिक टन युरिया र २ सय १३ दशमलव ८ मेट्रिक टन डिएपी, गुलरियामा ५ सय ९२ मेट्रिक टन युरिया तथा १ सय ४२ मेट्रिक टन डिएपी एवम नेपालगञ्जमा १ सय ९९ दशमलव १ मेट्रिक टन युरिया र १ सय ११ दशमलव ७ मेट्रिक टन डिएपी मौज्दातमा रहेको छ । गोदाममा रहेको मलहरूलाई सम्बन्धित बिक्री केन्द्रहरूका पठाइरहेको पन्थ दाबी गर्छन् । पन्थले अहिले पनि मल आउने क्रम जारी रहेको बताए । उनले ९ हजार ५ सय मेट्रिक टन युरिया र ८ हजार मेट्रिक टन डिएपी आउने क्रममा रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL