Logo

निर्जीवन बीमा कम्पनीले गरे ११ महिनामा ३६ अर्ब बीमाशुल्क संकलन, कसको कति ?

निर्जीवन बीमा कम्पनीले गरे ११ महिनामा ३६ अर्ब बीमाशुल्क संकलन, कसको कति ?



काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३६ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ आर्जन गरेका हुन् ।

कम्पनीहरुले यस अवधिमा २६ लाख ८ हजार बीमालेख विक्री गरेवापत उक्त बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यसअ अवधिमा सबैभन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको प्राधिकरणले जानकारी दिएको छ । यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले ११ महिनामा ४ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै दोस्रो धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ ।

यसै अवधिमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ३ अर्ब ६६ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २३ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ८८ करोड र यूनाइटेड अजोडले २ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यसैगरी यही अवधिमा एनएलजी इन्स्योरेन्सले २ अर्ब २६ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले २ अर्ब २१ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ७५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ५६ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेका छन् । यस अवधिमा नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी सबैभन्दा कम बीमाशुल्क आर्जन गर्ने कम्पनी बनेका छन् ।

प्राधिकरणका अनुसार यसै अवधिमा निर्जीवन लघुबीमा कम्पनीहरुले पनि २३ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा संचालित ४ लघुबीमा कम्पनीले साउनदेखि जेठ मसान्तसम्मको अवधिमा १ लाख ४ हजार बढी बीमालेख विक्री गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

सबै निर्जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्म विक्री गरेका बीमालेखमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ११ लाख ६४ हजार बीमालेख जारी भएका छन् । यस्तै लुम्बिनीमा ४ लाख ४० हजार, कोशीमा ३ लाख ४५ हजार, मधेशमा २ लाख ९३ हजार, गण्डकीमा २ लाख ७४ हजार, सुदूरपश्चिममा १ लाख ३९ हजार र कर्णाली प्रदेशमा ५६ हजार बीमालेख जारी भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL