Logo

कोशी प्रदेश : जीडीपीमा ५० प्रतिशत हिस्सा सेवा क्षेत्रको, औद्योगिक कर्जा १ खर्ब २९ अर्ब पुग्यो

कोशी प्रदेश : जीडीपीमा ५० प्रतिशत हिस्सा सेवा क्षेत्रको, औद्योगिक कर्जा १ खर्ब २९ अर्ब पुग्यो



काठमाडौं । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सबैभन्दा ठुलो हिस्सा सेवा क्षेत्रको रहेको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको ‘प्रादेशिक आर्थिक गतिविधि’ अध्ययनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदन अनुसार कोशी प्रदेशको जीडीपीमा सेवा क्षेत्रको हिस्सा मात्रै ५०.९ प्रतिशत रहने अनुमान गरिएकाे छ ।

उक्त तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको हिस्सा ३३.२ प्रतिशत, उद्योग क्षेत्रको १५.९ प्रतिशत र सेवा क्षेत्रको ५०.९ प्रतिशत योगदान रहने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल २.३ प्रतिशतले घटेको अध्ययनले देखाएको छ । यो तथ्यांक गएको पुस मसान्तसम्मको हो ।

चालु आवमा यो प्रदेशको कोदो, आलु, सुर्ती, तरकारी, लसुन लगायतले ढाकेको क्षेत्रफल घटेकोले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ ।

कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८८.६ प्रतिशत, तरकारी बालीले ढाकेको क्षेत्रफल ४.५ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ६.९ प्रतिशत रहेको छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७३.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० कोपहिलो ६ महिनाकोतुलनामा समीक्षा अवधिमा समग्र कृषि बालीको उत्पादन ०.०३ प्रतिशतले बढेको छ । सो अवधिमा खाद्य, नगदे तथा अन्य बालीको उत्पादन २.६ प्रतिशत, फलफुलको उत्पादन १.२ प्रतिशत तथा कफीको उत्पादन ०.३ प्रतिशतले बढेको छ भने तरकारीको उत्पादन १४ प्रतिशतले र चियाको उत्पादन ०.१ प्रतिशतले घटेको छ ।
कर्जा प्रवाहको कुरा गर्दा यो प्रदेशमा २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा कुल औद्योगिक कर्जा ०.५ प्रतिशतले बढेर १ खर्ब २९ अर्व ८३ करोड रुपैयाँ पुगेको छ ।

२०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ४.१ प्रतिशतले वृद्धि भई ४ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको तथा कूल कर्जा प्रवाहमा ४.६ प्रतिशतले कमी आई ५ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL