Logo

श्री एयरलाइन्सले थप्यो ८० सीटको जहाज, बन्यो देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी

श्री एयरलाइन्सले थप्यो ८० सीटको जहाज, बन्यो देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी



काठमाडौं । निजी क्षेत्रको श्री एयरलाइन्सले अर्को ८० सिटको नयाँ जहाज थपेको छ । श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर (हाल डि हाभिलैण्ड अफ क्यानाडा) कम्पनीमा निर्मित क्यु ४०० ड्यास ८ विमान भित्र्याएको हो ।

अब श्रीसँग सातवटा ड्यास ८, सिआरजे २०० र सिआरजे ७०० गरी फिक्स विङ्स जहाजको संख्या ११ पुगेका छन् । यस्तै, श्रीसँग आठवटा रोटर विङ्स (हेलिकप्टर) रहेका छन् । कुल १९ जहाजसहित श्री देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी बनेको छ ।

शुक्रबार राति १ बजेतिर काठमाडौंंमा अवतरण गरेको क्यु ४०० ड्यास ८ जहाज यसअघि अमेरिकाको होराइजन एयर तथा अलास्का एयरले सञ्चालन गरेको थियो । जहाजमा अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुभुति दिने र भरपदों क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्पपावरका पिडब्लूआइएसओए इन्जिन जडित भएको कम्पनीले जनाएको छ ।

श्री एयसलाईन्सका पाइलटहरुले अमेरिकाको अरेगन राज्यको पोर्टलैण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजवे, आइसलैण्डको केफलामिक, चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुँदै करिव १० हजार चार सय माइलको दुरी ३३ घण्टाको उडान तथा तीन रात्री विसानपछि त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा अवतरण गराएका हुन् । श्रीले सन् २०१७ मा ५० सिट क्षमताका दुइवटा सिआरजे २०० तथा ७० सिट क्षमताको दुइवटा सिआरजे ७०० जेट विमानबाट नियमित उडान संचालन शुरु गरेको थियो । श्रीले सेवा शुरु गरेपछि यात्रुहरुले पनि सहुलियत भाडादरमा यात्रा गर्न पाएको कम्पनीको दाबी छ ।

श्रीले सिआरजे २००-७०० तथा क्यु ४०० ड्यास विमानहबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत र पर्वतीय उडानहरु नियमित रुपमा संचालन गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु यथाशीघ्र पुरा गरी नयाँ विमानवाट आफ्ना आन्तरिक गन्तव्यहरुमा थप उडान गरि भरपर्दो सेवा सुचारु गर्ने कम्पनीले जनाएको छ ।

उद्योगपति स्व। बनवारीलाल मित्तलले ६३ वर्षको उमेरमा ०५५ सालमा हेलिप्कटरहरुबाट नेपालको अति दुर्गम तथा विकट, हिमाली क्षेत्रहरुमा खाद्यन्न ढुवानी, पर्यटकीय क्षेत्रमा आकस्मीक उद्धार तथा पर्यटकीय सामानहरु ढुवानी, निर्माण सामाग्री, जल विद्युतका र सडक आयोजनाका निर्माण गर्न विशेष प्रकारका मेशिनरी ढुवानी गर्न एयर अनन्या स्थापना गरेका थिए । पछि नाम परिवर्तन गरी श्री एयरलाईन्स राखिएको थियो ।

श्री एयरलाईन्स नेपाल तथा दक्षिण एशिया क्षेत्रबाटै संयुक्त राष्ट्र संघअन्तर्गतको विभिन्न शान्ति मिसन तथा डब्लुएफपीको हेलिकोप्टरबाट अन्तरराष्ट्रिय चार्टर उडान समेतमा संचालन गर्ने पहिलो हवाई कम्पनी हो । पर्यटन व्यवसायीहरु र यात्रुहरुको मागलाई सम्वोधन गर्न श्री एयरलाईन्सले निकट भविष्यमा थप गन्तव्यसहित हालका गन्तव्यहरुमा थप उडान संचालन गरि यात्रुलाई उत्कृष्ट सेवा प्रदान गर्दै जाने उद्देश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL