Logo

नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो, बागलुङ–कुश्मिसेरा खण्ड एक साता बन्द

नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो, बागलुङ–कुश्मिसेरा खण्ड एक साता बन्द



काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । यसैबीच बागलुङ बजारसँग दक्षिणी भेग जोड्ने बागलुङ–कुश्मिसेरा सडक खण्ड एक साताका लागि बन्द गरिएको छ । बागलुङ नगरपालिका–१० गलुवाको पहिरो नियन्त्रणका लागि एक साताका लागि बन्द गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

पहिरो नियन्त्रणका लागि उक्त सडक असार ४ देखि १० गतेसम्मका लागि बन्द गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए । गण्डकी प्रदेश सरकारको रु ५० लाखमा बागलुङ नगरपालिकाले पहिरो रोकथाम गरिरहेको छ । सडक बन्द भएको समयमा कालीगण्डकी करिडोरको सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL