Logo

मन्त्रिपरिषदको बैठक बस्दै, ११ देशमा राजदूत नियुक्ति गर्ने तयारी

मन्त्रिपरिषदको बैठक बस्दै, ११ देशमा राजदूत नियुक्ति गर्ने तयारी



काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (शुक्रबार) बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको कृषिमन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् ।

आजको बैठकमा विभिन्न ११ देशका राजदूत नियुक्ति गर्ने तयारी सरकारको छ । हिजो बसेको सत्तारुढ प्रमुख तीन दलको बैठकले राजदूतको भागबण्डा टुंगो लगाएका छन् । बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबण्डा टुंग्याएको हो । गत जेठ २४ मा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

बिहीबार साँझ २ घण्टासम्म भएको तीन नेताबीचको छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष सहमति भएको बताइएको छ । तीन नेताबीचको बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका असमझदारी छलफल गरेर टुंग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL