Logo

अलपत्र चक्रपथ विस्तारबारे संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, नागरिकले सास्ती खेप्नु परेको उल्लेख

अलपत्र चक्रपथ विस्तारबारे संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, नागरिकले सास्ती खेप्नु परेको उल्लेख



काठमाडौं । चक्रपथ विस्तारबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । काठमाडौंबाट प्रतिनिधित्व गर्ने १० सांसदले प्रस्ताव दर्ता गराएका हुन् । चक्रपथ दोस्रो खण्ड विस्तार अलपत्र परेकाले प्रस्ताव दर्ता गराउनुपरेको उनीहरूले उल्लेख गरेका छन् ।

प्रस्तावको समर्थकमा कांग्रेसका अन्य सांसद गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजन केसी, अम्बिका बस्नेत, सपना राजभण्डारी तथा रास्वपाका सांसद शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुली छन् ।

काठमाडौं चक्रपथअन्तर्गत दोस्रो खण्ड विस्तारको काम ६ वर्षदेखि गति लिन सकेको छैन । २ वर्षभित्र सक्ने गरी कलंकी–बसुन्धरा सडक विस्तार गर्न सम्झौता भएपनि हालसम्म काम नै सुरु हुन सकेको छैन ।

उक्त सडकखण्ड विस्तार गर्न नेपाल र चिनियाँ सरकारबीच २०१८ जनवरी १७ मा सम्झौता भएको थियो । तर सम्झौता भएको समयसीमा नाघेको ४ वर्ष भइसक्दा पनि सडक विस्तार परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनेको छैन ।

नेपाल र चिनियाँ सरकारबीच भएको द्विपक्षीय सम्झौतामा नेपालले गर्नुपर्ने काम भइसकेपछि मात्रै चिनियाँ पक्षले निर्माण सुरु गर्ने उल्लेख छ । सम्झौतामा साइट क्लियरेन्स, ढल, विद्युत्को पोल सार्ने, तारको व्यवस्थापन लगायतका कार्य सम्पन्न गर्नुपर्ने दायित्व नेपाल पक्षको छ ।

चक्रपथ विस्तार बेलैमा सुरु नहुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन् । उनले ३० जेठमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL