Logo

रियलस्टेट र घरकर्जा लिने बढे, पाँच वर्षमा दुवै शीर्षकमा खर्ब बढीको वृद्धि

रियलस्टेट र घरकर्जा लिने बढे, पाँच वर्षमा दुवै शीर्षकमा खर्ब बढीको वृद्धि



काठमाडौं । बैंक वित्तीय संस्थाहरुबाट व्यक्तिगत घरकर्जा र रियलस्टेटतर्फ प्रवाह हुने कर्जा अघिल्ला बर्षहरुको तुलनामा बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको फाइनान्सियल स्ट्याविलिटी प्रतिवेदन अनुसार कोरोना महामारीयता प्रत्येक आर्थिक बर्ष नेपालमा यस्तो कर्जा प्रवाह बढिरहेको देखिएको हो ।

प्रतिवेदनलाई आधार मान्दा आर्थिक बर्ष २०७५/७६ मा २ खर्ब ३८ अर्ब रुपैयाँ बराबर प्रवाह भएको व्यक्तिगत घरकर्जा आर्थिक बर्ष २०७९/८० मा पुग्दा ३ खर्ब ४८ अर्ब रुपैयाँ बराबर पुगेको छ । यसरी हेर्दा बैंक वित्तीय संस्थाहरुले व्यक्तिगत घर कर्जा शीर्षकमा गर्ने कर्जा लगानी पछिल्लो ५ बर्षमा १ खर्ब १० अर्ब रुपैयाँले बढेको छ ।

यता रियल स्टेट कर्जाको अवस्था पनि त्यस्तै छ । प्रतिवेदन अनुसार पछिल्लो ५ बर्षमा बैंक वित्तीय संस्थाहरुले रियलस्टेट कर्जा शीर्षकमा करिव १ खर्ब २ अर्ब रुपैयाँको बढोत्तरी देखिन्छ । आर्थिक बर्ष २०७५/७६ मा २ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको कर्जा रियल स्टेट क्षेत्रमा प्रवाह भएकोमा २०७९/८० मा पुग्दा यस्तो कर्जा ३ खर्ब ४९ अर्ब रुपैयाँ बराबर पुगेको हो । खासगरी कोरोना महामारीपछि घरजग्गा कारोबार सुस्ताएको चर्चा भएपनि कर्जा प्रवाहको अवस्थाले भने यो क्षेत्र अझै चलायमान नै रहेको देखाएको छ ।

रियलस्टेट र घरकर्जा शीर्षकमा ऋण अवचलन नभएको भएपनि अझै यो क्षेत्र चलायमान नै रहेको प्रतिवेदनले औँल्याएको छ । तर, पछिल्लो १२ बर्षको तुलनामा भने यो क्षेत्रमा हुने कर्जा प्रवाहको हिस्सा भने घटिरहेको प्रतिवेदनमा उल्लेख छ । आजभन्दा करिव १२ बर्ष अघि अर्थात आर्थिक बर्ष २०६८/६९ तिर, नेपालमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कुल कर्जामा करिव २० प्रतिशत हिस्सा रियलस्टेट कर्जाकै थियो । तर, हाल त्यो हिस्सा घटेर ४ प्रतिशतमा खुम्चिएको छ । यता विकास बैंकहरुको अवस्था पनि त्यस्तै छ । १२ बर्षअघि विकास बैंकहरुले गर्ने कुल कर्जा प्रवाहमा १०.४६ प्रतिशत हिस्सा ओगटेकोमा हाल घटेर करिव ५ प्रतिशतमा झरेको छ ।

सोही प्रतिवेदनअनुसार नेपालका बैंक वित्तीय संस्थाहरुले गर्ने कुल कर्जाको सबैभन्दा ठूलो हिस्सा उपभोग्य क्षेत्रमा प्रवाह भइरहेको छ । अर्थात थोक तथा खुद्रा क्षेत्र र उपभोग्य शीर्षकमा नेपालमा प्रवाह भएको कुल कर्जाको ठूलो हिस्सा प्रवाह भइरहेको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदन अनुसार नेपालमा प्रवाह भएको कुल कर्जामध्ये २०.१५ प्रतिशत कर्जा थोक तथा खुद्रा क्षेत्रमा भएको छ भने १८.९८ प्रतिशत कर्जा उपभोग्य क्षेत्रमा भएको देखिन्छ ।

यसरी नेपालमा प्रवाह भएको कर्जाको ठूलो हिस्सा उपभोग्य क्षेत्रमा हुनुले कुल गार्हस्थ उत्पादनमा उपभोगको अनुपात बढेको देखिन्छ । अर्थमन्त्रालयका अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको उपभोगको अनुपात ९४ प्रतिशत वरिपरि घुमिरहेको छ । यस्तै प्रवाह हुने कुल कर्जाहरुमध्ये कृषि, पेय पदार्थ उत्पादन क्षेत्रमा क्रमशः १६.४ प्रतिशत कर्जा प्रवाह हुने गरेको छ । पछिल्लो समय बैंक वित्तीय संस्थाहरुबाट प्रवाह हुने टर्म प्रकृतिका कर्जाहरु उच्च बढेपछि चालु पुँजी कर्जा भने पछिल्लो समय घटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्