काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियालाई आफ्नो स्वार्थअनुरुप कार्यान्वयन गर्न खोज्दा त्यसको ठूलो असर सेयर बजारमा देखिएको छ । पछिल्लो समय अर्थमन्त्री पुनःले सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल दुबैलाई बाईपास गर्दै आफै बार्गेनिङमा लाग्दा अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्यौल बनेको समाचारहरु बाहिर आएका छन् । साथै उक्त समाचारहरु आएझै पछिल्लो समय अर्थमन्त्री आफै सक्रिय भएर आर्थिक रुपमा बार्गेनिङ गर्न थालेपछि त्यसले थप अन्यौलता सिर्जना गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
पछिल्लो समय अर्थमन्त्री पुनले एमाले अध्यक्ष ओलीका कारण बोर्ड अध्यक्ष नियुक्तिमा अन्यौलता भएको आफु निकटका व्यक्तिहरुलाई बताउँदै आएका छन् । तर, अर्थमन्त्री पुनले बाहिर ओली प्रचण्डलाई देखाएर भित्रिरुपमा आफै बार्गेनिङमा लागेको स्रोतको दाबी छ । यसअघि अर्थमन्त्री पुनले आफु अनुकुल बोर्ड अध्यक्ष नियुक्त नहुने भएपछि सूचना नै प्रकाशित गरेर अन्तिम ५ जनामा परेका उम्मेदवारको प्रस्तुतिकरण तथा अन्तरवार्ता रोकेका थिए । मन्त्रालयले चैत २९ गते कार्ययोजना पेशसहित अन्तरवार्ताको लागि बोलाएकोमा अर्थमन्त्री पुनले चैत २८ गते नै अर्को सूचना प्रकाशित गरेर उक्त प्रक्रिया रोक्दै आफु अमेरिका उडेका थिए ।
तर, अहिले उम्मेदारको लागि पुनः अन्तरवार्ता बोलाइएपनि अर्थमन्त्री पुनले त्यसलाई गिजोल्ने काम गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘अहिले बाहिरी रुपमा प्रचण्ड ओलीका कारण प्रक्रिया अन्यौलमा रहेको भन्दै हल्ला फैल्याइएको छ,’ उच्च स्रोतले भन्यो, ‘वास्तविकतामा अर्थमन्त्री पुन आफै अनावश्यकरुपमा बढी सक्रिय हुँदा अध्यक्ष नियुक्ति प्रक्रिया अन्यौलमा परेको हो ।’
करिव ६३ लाख लगानीकर्ता र ३३ खर्ब रुपैयाँभन्दा बढी पुँजीकरण रहेको सेयर बजारमा बोर्ड अध्यक्ष नियुक्तिलाई लिएर अर्बौं रुपैयाँको बार्गेनिङमा लाग्दा त्यसले लगानीकर्ताको मनोविज्ञानमा समेत असर परेको सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् । ‘अहिले अर्थमन्त्री स्वयम नै सक्रिय भएर बोर्ड अध्यक्षको पदलाई मोल बढावढमा बिक्रीमा राएिको समाचारहरु बाहिर आएका छन्,’ एक लगानीकर्ताले भने, ‘त्यसरी पैसा बुझाएर अध्यक्ष नियुक्त हुने व्यक्तिले बोर्डमा गएर लगानीकर्ताको हितमा काम गर्ने नभई कमाउधन्दामा लाग्छन् जसले गर्दा नेपालको सेयर बजार जुवाघरमा परिणत हुनेछ ।’ बोर्डमा अध्यक्ष खाली भएको ५ महिना वितिसक्दा पनि अध्यक्ष नियुक्त हुन नसक्नुले उक्त प्रक्रियामा ठूलै रकमको चलखले भैरहेको सहजै अनुमान लगाउन सकिने समेत ती लगानीकर्ताले जानकारी दिए । यदि पुँजी बजारको विकास गर्ने हो भने यसरी मोल बढाबढमा अध्यक्ष नियुक्तिभन्दा पनि सहज रुपमा सक्षम व्यक्तिलाई अध्यक्ष बनाएर तत्काल नियुक्त गर्नुपर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।
तत्कालीन समयमा रमेश हमाल अध्यक्ष भएर आएसँगै बोर्डलाई सबैभन्दा मालदार अड्डाको रुपमा विकसित गरेका थिए । नयाँ कम्पनीको आइपीओ, प्रिमियम मूल्यमा सेयर बिक्रीदेखि हकप्रदको स्वीकृति दिँदा होस वा नयाँ लाइसेन्स वितरण गर्दा हमालले अर्बौं रुपैयाँ उठाएको आरोप उनीमाथि छ । सो सम्बद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हमाल र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठमाथि भ्रष्टाचार गरेको आरोपमा छानविन गरिरहेको छ ।
त्यसैगरी अहिले नै नयाँ स्टक लाईसेन्स वितरणमा ५ अर्ब रुपैयाँको खेल भैरहेको समाचारहरु बाहिर आएका छन् भने अबका दिनमा सयौं कम्पनीको आईपीओ आउने तयारीमा छन् । जसका कारण बोर्ड अध्यक्ष नियुक्ति गर्दा अर्बौं रुपैयाँ कमाई हुने भन्दै पछिल्लो समय अर्थमन्त्री पुन आफै सक्रिय भएर बार्गेनिङमा लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘बोर्ड अध्यक्ष नियुक्तिमा कर्पोरेट वार भएको र जसका कारण थप अन्यौलता भएको विषयहरु बाहिर ल्याइएको छ,’ उक्त स्रोतले भन्यो, ‘तर, वास्तविकतामा अर्थ मन्त्री पुनको स्वार्थ नमिलेका कारण अहिले अध्यक्ष नियुक्ति प्रक्रिया थप रुमलिँदै गएको छ ।’
सरकारले बोर्ड अध्यक्ष नियुक्ति सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादूर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले आवेदन दिएका मध्ये कृष्णबहादूर कार्की, डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ गरी ५ जनाको नाम सर्टलिष्ट गरेको थियो । नियमत सो समितिले अन्तिम ३ जनाको नाम टुङ्गो लगाएर मन्त्रिपरिषदमा पेश गर्नुपर्ने हुन्छ । तर, उनै श्रेष्ठपनि अर्थमन्त्री पुनको छायाँ बनेर काम गर्दा समिति गठन भएको ५ महिना वित्नलाग्दा पनि अन्तिम ३ को नाम टुङ्गो लाग्न सकेको छैन ।
सोहीअनुरुप लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर पर्दा पछिल्लो समय सेयर बजार लगातार ओरालो लाग्दै आएको छ । लामो समयदेखि ओरालो यात्रा तय गरेको नेप्से परिसुचकले २२ सय अंक पार गर्न सकेको छैन । बोर्डमा अध्यक्ष आएर नयाँ नीति ल्याएर बजारलाई सकारात्मक गति दिने आशामा बसेका लगानीकर्ताहरु बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिदै जाँदा थप निरास बन्न पुगेका छन् ।