Logo

फुटपाथमा अवरोध बनेका देशैभरका विद्युतका प्यानल धमाधम परिवर्तन गरिदै

फुटपाथमा अवरोध बनेका देशैभरका विद्युतका प्यानल धमाधम परिवर्तन गरिदै



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले करिव डेढ बर्ष अघि गरेको निर्णयअनुरुप फुटपाथमा अवरोध बनेका देशैभरका विद्युतका प्यानल धमाधम परिवर्तन गरिरहेको छ । विस २०७६ यता धमाधम काठमाडौंलगायत विभिन्न सहरमा विद्युतीय तार भूमिगत गरिरहेको प्राधिकरणले फुटपाथमा छेकिनेगरि डिस्ट्रिब्युसन प्यानल राख्दै आएको थियो । तर, फुटपाथ नै पूर्णरुपमा छेकिने गरी राखिएका यस्ता प्यानलले पैदलयात्रुलाई सास्ती भएको, सडक दुर्घटनाको जोखिम बढेकोलगायतका भन्दै विरोध भएको थियो । जसका कारण प्राधिकरणले २०७९ मंसिरमा फुटपाथमा राखिएका यस्ता प्यानलहरु हटाउने निर्णय गरेका थियो ।

करिव १ महिना अघिदेखि प्राधिकरणले महाराजगंज, चावहिललगायतका सडक छेउमा राखिएका पुराना डिस्ट्रिव्युसन प्यानल हटाएर नयाँ प्यानल राख्दै आएको छ । हाल प्राधिकरणले फुटपाथमा राखेका कतिपय डिस्ट्रिव्युसन प्यानलहरु १ मिटरसम्म चौडाई भएका छन् । अर्थात कुनै कुनै डिस्ट्रिब्युसन प्यानलहरु त फुटपाथकै आकारका छन् । जसका कारण फुटपाथ भएको स्थानमा फुटपाथ नै देखिँदैन । यसै त काठमाडौंका छिटफुटबाहेक धेरैजसो फुटपाथको लम्बाई २ मिटरभन्दा चौडा छैन । त्यसैमाथि प्राधिकरणले एक मिटरसम्मका प्यानल राखिदिँदा पैदल यात्रुहरुले सास्ती भोग्दै आउनुपरेको थियो । अझ १ मिटर चौडाई भएका फुटपाथमा नै यी प्यानलहरु राखिँदिँदा फुटपाथ पुरै छेकिएर पैदलयात्रुहरु सडकमै ओर्लनुपर्ने अवस्था थियो ।

प्राधिकरणलाई आधार मान्ने हो भने रत्नपार्क महाराजगंज वितरण केन्द्र अन्तर्गत १ सय २० ओटा प्यानलले फुटपाथ नै छेकेका छन् । यी प्यानल परिवर्तन गर्नुपर्ने भएपनि सरकारी झन्भटिलो प्रक्रियाका कारण नयाँ प्यानल आयात हुन ढिलाई भएपछि यसको प्रतिस्थापनमा पनि ढिलाई भएको हो । खासगरी प्राधिकरणले तार भूमिगत गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी लार्सेन एण्ड टर्बाे (एलएण्डटी)लाई यस्ता प्यानलहरु प्रतिश्थापन गर्नेगरी नयाँ प्यानल बनाउन अघिल्लो बर्षको मंसिरमै अर्डर दिएको थियो ।

भारतीय कम्पनीले यस्तो प्यानल बनाउन अर्डर पाएपनि समयमै नबनाइदिने र बनाएपनि नेपाल ल्याउन ढिलाई गरिदिनाले समस्या निम्तिएको देखिन्छ । हालसम्म यी प्यानलहरु नआएकै कारण पुराना प्यानलहरु प्रतिस्थापन गर्न ढिलाई भएको प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए । उनका अनुसार अब नेपालमा उक्त प्यानलहरु आइसकेका छन् । केहिदिन अघिदेखि प्राधिकरणले धोविघाट करिडोर र महाराजगंज सडकखण्डमा उक्त प्यानलहरु परिवर्तन गरिरहेको उनले बताए । हालसम्म प्राधिकरणले फुटपाथ छेकेका १३ प्यानलहरु परिवर्तन गरिसकेको र बाँकी रहेको प्यानलहरु पनि भारतबाट आइसकेकाले धमाधम परिवर्तन गर्ने कार्य भईरहेको उनले उनको भनाई छ ।

हाल प्राधिकरणले सडकका फुटपाथमा गाडिएका बिजुलीका तारसँगै जोडिएको प्यानलहरुबाट ग्राहकको घरघरसम्म तार पुर्याउने कार्य पनि सँगै गरिरहेको छ । यसअघि किर्तिपुर, पूर्वी काठमाडौंको जडिबुटी र पेप्सीकोलामा सम्पन्न गरिसकेको यस्तो काम सोही भारतीय कम्पनी एल एण्ड टीले गरिरहेको छ । कम्पनीले प्यानलहरुबाट तार छुट्याएर पाइपभित्र तार घुसाई ग्राहकको घरसम्मै ३० र ६० एम्पियर क्षमताको तार पुर्याउँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौंलगायत देशभरका सहरहरुमा असरल्ल भई सहरको सौन्दर्य विगारेका तार व्यवस्थापन गर्न २०७६ सालमा सुरु गरेको थियो । त्यसयता प्राधिकरणले काठमाडौं उपत्यकामा करिव सबैजसो क्षेत्रमा र चितवन, पोखरालगायतका सहरमा यसको काम सम्पन्न गरिसकेको छ । प्राधिकरणले हाल काठमाडौं उपत्यकाका धेरैजसो स्थानमा र सहायक सडकमार्गहरुमा तार भूमिगत गर्ने कार्य सम्पन्न गरिसकेको छ । तर, रत्नपार्क वरिपरि, माईतिघरदेखि तिनकुनेसम्म, एयरपोर्ट नजिक र सिंहदरबार आसपास सडक खन्ने अनुमति सडक विभागले ढिला दिएका कारण हाल काम धमाधम भइरहेको छ । यी क्षेत्रहरुमा हाल तार भूमिगत गर्ने कार्य भइरहेको प्रवक्ता घोष बताउँछन् ।

नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए । सो कार्य शिलान्यास गर्नेबेला सडक विभागले सबै सडकमा प्राधिकरणलाई तार भूमिगत गर्न सहमति दिएपनि पछि मुख्य सडकहरुमा भने पहिलेको सहमतिले काम नगर्ने र पुनः सहमति लिनुपर्ने अडान राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL