Logo

चार प्रदेशमा गए रातिदेखि नै वर्षा, आज यी क्षेत्रमा दिनभर बर्षाको सम्भावना

चार प्रदेशमा गए रातिदेखि नै वर्षा, आज यी क्षेत्रमा दिनभर बर्षाको सम्भावना



काठमाडौं । काठमाडौं उपत्यकामा गए रातिदेखि नै वर्षा पानी परिरहेको छ । पूर्वबाट आएको मौसमी प्रणाली र स्थानीय वायुका कारण काठमाडौंमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं धुम्म छ । महाशाखाका अनुसार काठमाडौंमा दिउँसो केही समय मौसम खुले पनि साँझसम्मै वर्षाको सम्भावना छ ।

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (मंगलबार) दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कहाँ कति पर्‍यो पानी ?
पछिल्लो एक घण्टामा कोशी प्रदेशका केही भूभागमा मध्यम वर्षा भएको छ । उदयपुरको सुन्दरपुरमा ३४.४, धरानको सुनसरीमा ३०.८, मोरङको लेटाङमा २६.२ मिलिमिटर वर्षा भएको छ । पछिल्लो २४ घण्टामा झापाको कन्काइमा भारी वर्षा मापन भएको छ । त्यहाँ १३३ मिलिमिटर वर्षा भएको छ ।

झापाकै मैनाचुलीमा १३१.८, झापाको अनारमनीमा १११, धरानमा ९९.८ मिलिमिटर पानी परेको छ । काठमाडौंमा रातिदेखि नै वर्षा भए पनि हवाई सेवा भने नियमित छ । हवाई उडान र अवतरण नियमित रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । रातिदेखि नै वर्षा भएका कारण काठमाडौंमा आज तुलनात्मक रूपमा शीतल हुनेछ । काठमाडौंको अधिकतम तापक्रम आज २८ देखि ३० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL